भन्सार शुल्कपछि अमेरिकामा जर्मन उत्पादन महँगिए
बर्लिन । अमेरिकाले लगाएको उच्च भन्सार शुल्कका कारण बढेको आयात लागतको असर अहिले प्रत्यक्ष रूपमा अमेरिकी उपभोक्तामाथि पर्न थालेको छ । अमेरिकामा सञ्चालनमा रहेका अधिकांश जर्मन कम्पनीहरूले अतिरिक्त लागत धान्न आफ्ना उत्पादन तथा सेवाको मूल्य वृद्धि गरेका छन् ।
जर्मन उद्योग तथा वाणिज्य मण्डलद्वारा शुक्रबार सार्वजनिक गरिएको एक विस्तृत सर्वेक्षणअनुसार अमेरिकामा व्यवसाय गरिरहेका दुईतिहाइभन्दा बढी जर्मन कम्पनीहरूले अमेरिकी भन्सार नीतिका कारण उत्पन्न अतिरिक्त खर्च ग्राहकबाटै असुल गर्न मूल्य बढाउने रणनीति अपनाएका हुन् ।
उक्त सर्वेक्षणमा विश्वभर सञ्चालनमा रहेका चार हजार ५०० भन्दा बढी जर्मन कम्पनी सहभागी थिए । सर्वेक्षणले अमेरिकी व्यापार नीति, भन्सार शुल्क तथा नीतिगत अनिश्चितता अझै पनि विदेशी कम्पनीहरूका लागि प्रमुख व्यावसायिक चुनौती बनेको देखाएको छ ।
प्रतिवेदनअनुसार गत वर्ष अमेरिकाले लागू गरेको नयाँ भन्सार शुल्कपछि कम्पनीहरूमा सुरुमा ठूलो अन्योल र दबाब सिर्जना भएको थियो । तर पछिल्लो समय व्यावसायिक वातावरणमा केही सुधार देखिएको छ । अमेरिकामा रहेका ४३ प्रतिशत जर्मन कम्पनीहरूले हालको व्यावसायिक अवस्था राम्रो रहेको बताएका छन् । यो संख्या सन् २०२५ को शरद ऋतुमा ३९ प्रतिशत मात्र थियो ।
यद्यपि, जर्मन उद्योग तथा वाणिज्य मण्डलले अहिलेको सुधारलाई पूर्ण रूपमा सकारात्मक भन्न नमिल्ने जनाएको छ । संस्थाका अनुसार हालको व्यापारिक अवस्था अझै पनि दीर्घकालीन औसतभन्दा कमजोर रहेको छ, जसले अमेरिकी बजारप्रति कम्पनीहरूको सतर्कता कायम रहेको संकेत गर्छ ।
सर्वेक्षणले अमेरिकी अर्थतन्त्रप्रति पनि जर्मन कम्पनीहरू पूर्ण रूपमा आशावादी नरहेको देखाएको छ । करिब ३० प्रतिशत कम्पनीहरूले आगामी एक वर्षमा अमेरिकी आर्थिक अवस्था अझ बिग्रिने अनुमान गरेका छन् । त्यसको विपरीत केवल २४ प्रतिशत कम्पनीहरूले मात्र आर्थिक अवस्थामा सुधार आउने विश्वास व्यक्त गरेका छन् ।
विशेषज्ञहरूका अनुसार भन्सार शुल्कको दीर्घकालीन असर अन्ततः उपभोक्तामाथि नै पर्ने भएकाले वस्तु तथा सेवाको मूल्य वृद्धि अमेरिकी बजारमा महँगी बढाउने प्रमुख कारण बन्न सक्छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया