भारतमा इन्धनको मूल्य फेरि बढ्ने संकेत
काठमाण्डौ । मध्यपूर्वमा चुलिँदै गएको भूराजनीतिक तनावका कारण भारतमा पेट्रोल–डिजलको मूल्य थप बढ्न सक्ने चेतावनी दिइएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की पूर्व डेपुटी म्यानेजिङ डाइरेक्टर तथा हार्वर्ड विश्वविद्यालयकी प्राध्यापक गीता गोपीनाथले भारतको अर्थतन्त्रलाई असर पार्नसक्ने तीन प्रमुख जोखिम औँल्याउँदै ‘ट्रिपल अलर्ट’ जारी गरेकी हुन् ।
भारतीय सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले अमेरिका-ईरान तनाव लम्बिँदै गए ऊर्जा आपूर्ति प्रणालीमा गम्भीर असर पर्ने र त्यसको प्रत्यक्ष प्रभाव भारतजस्ता तेल आयातमा निर्भर मुलुकमा देखिने बताएकी छन् । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १४० अमेरिकी डलरसम्म पुग्न सक्ने जोखिम देखिएको छ ।
इन्धन मूल्य फेरि उकालो लाग्ने संकेत
भारतले आफ्नो ठूलो ऊर्जा आवश्यकता मध्यपूर्वबाट आयातित कच्चा तेलमार्फत पूरा गर्दै आएको छ । यही कारण होर्मुज स्ट्रेट क्षेत्रमा उत्पन्न तनावले भारतको इन्धन आपूर्तिमा प्रत्यक्ष दबाब सिर्जना गर्न थालेको विश्लेषण गरिएको छ ।
पछिल्ला केही दिनमै भारतमा पेट्रोल–डिजलको मूल्य दुई पटक बढिसकेको छ । मे १५ मा प्रतिलिटर ३ रुपैयाँ तथा मे १९ मा थप ९० पैसा मूल्य वृद्धि गरिएको थियो । ऊर्जा क्षेत्रका विज्ञहरूले अब पनि मूल्यवृद्धिको चाप कायम रहने र आगामी दिनमा प्रतिलिटर ७ देखि ९ रुपैयाँसम्म थप वृद्धि हुन सक्ने अनुमान गरेका छन् ।
विशेषज्ञहरूका अनुसार यो वृद्धि एकैपटक नभई चरणबद्ध रूपमा हुन सक्नेछ । यदि कच्चा तेलको मूल्य निरन्तर उकालो लागिरह्यो भने भारतीय सरकारमाथि कर समायोजन वा अनुदान व्यवस्थापनको थप दबाब पर्ने देखिएको छ ।
नेपालमा पनि असर पर्ने सम्भावना
भारतमा इन्धन मूल्य बढे त्यसको प्रभाव नेपालमा समेत पर्ने सम्भावना देखिएको छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनबाटै पेट्रोलियम पदार्थ आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय बजार र भारतीय मूल्य संरचनाको असर नेपाली बजारमा पनि प्रत्यक्ष रूपमा पर्छ ।
यदि कच्चा तेलको मूल्य निरन्तर बढिरह्यो भने नेपालमा पनि पेट्रोल, डिजल र खाना पकाउने ग्यासको मूल्य समायोजनको दबाब बढ्न सक्ने ऊर्जा क्षेत्रका जानकारहरू बताउँछन् । त्यसले यातायात भाडादेखि दैनिक उपभोग्य वस्तुको मूल्यसम्म असर पार्ने सम्भावना रहेको उनीहरूको भनाइ छ ।


प्रतिक्रिया