कक्षा १२ को उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण गर्न समिति गठन
काठमाडौँ । शिक्षा मन्त्रालयले कक्षा १२ को उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाङ्क तथा डेटा इन्ट्रीको भेरिफिकेसन गर्न समिति गठन गरेको छ । शिक्षामन्त्री सस्मित पोखरेलले शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी समिति गठन गरिएको जानकारी दिएका छन् ।
नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थी विरोध प्रदर्शनमा उत्रिएपछि मन्त्री पोखरेलले समिति गठन गरेका हुन् । मन्त्री पोखरेलले भनेका छन्, ‘यस विषयसँग सम्बन्धित केही समाचार तथा सामाजिक सञ्जालका प्रतिक्रियाहरू हेर्दा, विद्यार्थीहरूप्रति गरिएका केही नकारात्मक तथा असम्मानजनक टिप्पणीहरूले मेरो ध्यानाकर्षण भएको छ। शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुव्र्यवहार, गालीगलौज वा असम्मानजनक टिप्पणी नगर्न सबैमा अनुरोध गर्दछु । साथै, शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाङ्क तथा डेटा इन्ट्रीको भेरिफिकेसन गर्न समिति गठन गरिएको छ।’
मन्त्री पोखरेलले बोर्डको नतिजा प्रक्रिया स्पष्ट र विश्वसनीय रहेको भन्दै आवश्यक जनशक्ति थपेर र प्रशासनिक झन्झट हटाई समयमै नतिजा सार्वजनिक गरिएको दाबी गरेका छन् ।
यता राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै बिहीबार पीडित विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् ।
उनीहरूले आफूले गरेको मिहिनेत अनुसारको अङ्क नआएको भन्दै बिहीबार माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनरत विद्यार्थीहरुले नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको बताएका छन् । परीक्षा बोर्डले ४० दिनमै परीक्षाफल प्रकाशित गरेको थियो। हतारमा परीक्षाफल प्रकाशित गर्दा धेरै विद्यार्थीको नतिजा बिग्रिएको विद्यार्थीहरुको भनाइ छ ।
ताजा अपडेट
-
रास्वपा निर्वाचन तालिका फेरि संशोधन, पदाधिकारीको चुनाव सवा ९ बजेदेखि
-
राष्ट्रपतिद्वारा वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण
-
कक्षा १२ को उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण गर्न समिति गठन
-
भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट
-
५ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य


प्रतिक्रिया