अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रयोगमा कडाइ, कानुन मिचेमा ९९ मिलियन डलरसम्म जरिबाना
काठमाडौँ- अस्ट्रेलियाले विश्वमै पहिलोपटक १६ वर्षमुनिका किशोरकिशोरीहरूका लागि लागू गरेको सामाजिक सञ्जाल प्रतिबन्धलाई थप प्रभावकारी बनाउन कडा कदम चालेको छ। प्रतिबन्धको नियम उल्लंघन गर्ने सामाजिक सञ्जाल प्लेटफर्महरूलाई रोक्न सरकारले पहिलेको तुलनामा दोब्बर बढी आर्थिक जरिबाना लगाउने घोषणा शनिबार गरेको अस्ट्रेलियाली सञ्चारमाध्यमले जनाएका छन्।
नयाँ कानुनअनुसार प्रणालीगत रुपमा नियम उल्लंघन गर्ने प्रविधि कम्पनीहरूलाई अधिकतम ९९ मिलियन अस्ट्रेलियन डलर (करिब ६८ मिलियन अमेरिकी डलर) सम्म जरिबाना गर्न सकिनेछ। यसका साथै अनलाइन नियामक निकाय ‘ई–सेफ्टी’ लाई प्लेटफर्महरू नियमन र अनुगमन गर्न थप शक्तिशाली बनाइएको छ।
अस्ट्रेलियाली सरकारले जारी गरेको विज्ञप्तिअनुसार स्वतन्त्र निकायले हाल फेसबुक, इन्स्टाग्रा, स्न्यापच्याट, टिकटक र युट्युबजस्ता ठूला प्लेटफर्महरूको सम्भावित गैरअनुपालनबारे सक्रिय अनुसन्धान गरिरहेको छ।
प्रधानमन्त्री एन्थोनी अल्बानिजले ठूला प्रविधि कम्पनीहरू कानुन पालना गर्न पर्याप्त प्रयास नगरेको बताएका छन्। उनले भनेका छन्, ‘ठूला प्रविधि कम्पनीहरूले कानुन पालना गर्न पर्याप्त प्रयास नगरेको स्पष्ट देखिन्छ। अझै पनि धेरै बच्चाहरू सामाजिक सञ्जालमा सक्रिय छन्। यी पविर्तनहरूले सामाजिक सञ्जाल कम्पनीहरूको असफलतालाई हामीले कति गम्भीर रुपमा लिएका छौँ भनने कुरा पष्टि गर्छ।’
सञ्चारमन्त्री अनिका वेल्सले पनि प्रविधि कम्पनहिरु उत्तरदायित्वबाट पन्छिन खोजेको आरोप लगाए।
‘सामाजिक सञ्जाल प्लेटफर्महरू विश्वका सबैभन्दा धनी र शक्तिशाली कम्पनीहरू हुन्, तर उनीहरू केवल न्यूनतम प्रयासमात्र गरिरहेका छन्। हामी उनीहरूलाई जवाफदेही बनाउन गम्भीर छौँ,’ उनले भने।
गएको डिसेम्बर १० देखि लागू भएको यस प्रतिबन्धका बाबजुद किशोरकिशोरीहरूले प्रतिबन्ध छल्न विभिन्न उपायहरू अपनाइरहेको अधिकारीहरूले बताएका छन्।
किशोरहरूले अन्य व्यक्तिका पुराना अकाउन्टहरू सक्रिय बनाएर प्रयोग गर्ने, नक्कली खाता खोल्ने, प्राइभेट ब्राउजरबाट लगइन गर्ने जस्ता गतिविधि गर्ने गरको पाइएको छ।
यसै महिला बेलायतको एक मेडिकल जर्नलमा प्रकाशित पहिलो स्वतन्त्र मूल्यांकन प्रतिवेदनले प्रतिबन्धको प्रभावकारितामा ‘अपर्याप्त प्रमाण’ रहेको निष्कर्ष निकालेको छ। अनुसन्धानकर्ताहरूले प्रतिबन्ध लागू हुनुअघि र लागू भएको तीन महिनापछि चार सयभन्दा बढी युवाहरूमाझ गरेको सर्वेक्षणमा नियमको व्यापक उल्लंघन भएको पाइएको थियो।
विवरणअनुसार प्रतिबन्धपछि १२–१३ वर्ष उमेर समूहको प्रयोगमा खासै परिवर्तन देखिएन भने १४–१५ वर्षको समूहमा सामान्य कमी आयो। तर, १६ वर्ष वा सोभन्दा माथिका प्रयोगकर्तामा भने सामाजिक सञ्जालको प्रयोग थप बढेको पाइएको छ।
अस्ट्रेलियाली सरकारले हालसम्म १६ वर्षमुनिका ५० लाखभन्दा बढी किशोरकिशोरीका अकाउन्टहरू बन्द गरिसकेको छ। अब नयाँ कानुनले ई–सेफ्टीका प्रमुख आयुक्तलाई थप अधिकार दिएको छ, जसअनुसार सामाजिक सञ्जाल प्लेटफर्महरूले १६ वर्षमुनिकालाई खाता खोल्न रोक्न के कस्ता कदम चालेका छन् भनी प्रमाण पेस गर्न बाध्य पार्न सकिनेछ।
उमेर प्रमाणीकरण गर्ने वा एप स्टोर प्रदायकजस्ता तेस्रो पक्षबाट पनि जानकारी र कागजात माग गर्न सकिनेछ।
अस्ट्रेलियामा प्रयोगकर्ताहरू १६ वर्ष वा सोभन्दा माथिका हुन् भनने प्रमाणित गर्ने पूर्ण जिम्मेवारी सामाजिक सञ्जाल कम्पनीहरूकै हुनेछ। यसका लागि केही प्लेटफर्महरूले फोटोबाट उमेर अनुमान गर्ने एआई उपकरण प्रयोग गरिरहेका छन् भने कतिपयले सरकारले उपलब्ध गराएको परिचयपत्र अपलोड गराएर उमेर प्रमाणीकरण गरिरहेका छन्।
विश्वव्यापी चासो र बहस
अनलाईनमा धेरै समय बिताउँदा किशोरकिशोरीहरूको मानसिक र शारिरीक स्वास्थ्यमा नकारात्मक प्रभाव परिरहेको अध्ययनहरूले देखाइरहँदा अस्ट्रेलियाको यो कदमले अभिभावकहरूले स्वागत गरेका छन्।
सामाजिक सञ्जाल प्लेटफर्महरूले कानुन पालना गर्ने प्रतिबद्धता जनाए पनि यसले किशोरहरूलाई सुरक्षित इन्टरनेटको पहुँचबाट टाढा धकेली अनियन्त्रित र अन्धकारपूर्ण डिजिटल वातावरणतर्फ लैजान सक्ने चेतावनी दिएका छन्।
अस्ट्रेलियाको यस ऐतिहासिक प्रतिबन्ध र यसको सफलता वा असफलताप्रति बेलायत, इन्डोनेसिया, संयुक्त अरब इमिरेट्स र न्युजिल्यान्डजस्ता देशहरूले पनि गहिरो चासोका साथ हेरिरहेका छन्। यी देशहरूले पनि सामाजिक सञ्जाल प्रयोगको सम्बन्धमा यस्तै कानुन लागू गर्ने तयारी गरिरहेका छन्।
ताजा अपडेट
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जना पक्राउ
-
पूर्वअर्थमन्त्री पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति
-
अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रयोगमा कडाइ, कानुन मिचेमा ९९ मिलियन डलरसम्म जरिबाना
-
आंगिक क्याम्पसलाई त्रिविको निर्देशन- दलीय विद्यार्थी संरचना हटाउनू
-
ग्लोबल आइएमई बैंककाे उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला


प्रतिक्रिया