NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार २९ गते

बैंककको बारमा भीषण आगलागी, २७ जनाको मृत्यु

काठमाडौं । थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन्। सोमबार मध्यरातपछि भएको आगलागीमा बारको मुख्य प्रवेशद्वार आगोले ढाकिएपछि ग्राहकहरू भाग्न खोज्दा ठूलो मानवीय क्षति भएको हो। उद्धारकर्मीहरूले करिब आधा घण्टापछि आगो नियन्त्रणमा लिएका थिए।

थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नविराकुलले २७ जनाको शव फेला परेको र अन्य घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए। आगलागीको कारणबारे अनुसन्धान भइरहेको उनले बताए। स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमध्ये नौ जना पुरुष र १८ जना महिला छन्। केही व्यक्ति अझै बेपत्ता रहेको जनाइएको छ।

प्रधानमन्त्रीका अनुसार आगलागी सुरु हुँदा कार्यक्रम प्रस्तुत गरिरहेका एक संगीतकर्मीले सुरुमा विद्युत् कट–आउट स्विचमा आगो लागेको र त्यसपछि केही क्षणमै विस्फोटजस्तो आवाजसँगै धुवाँ र आगो तीव्र रूपमा फैलिएको बताएका छन्।

धेरैजसो मानिस धुवाँबाट बच्न भवनको पछाडिपट्टि र शौचालयतर्फ गए पनि बाहिर निस्कन नसकेकाले अधिकांश शव त्यहीँ फेला परेको प्रधानमन्त्रीले बताए। रोङ बियर ना लाट फ्राओ नामले परिचित उक्त बार बैंककको चातुचक जिल्लामा अवस्थित लोकप्रिय रेस्टुरेन्ट तथा मनोरञ्जनस्थल हो। बैंककका गभर्नर चात्चार्ट सित्तिपुन्तले बारभित्र प्रयोग गरिएका ज्वलनशील सजावट सामग्रीका कारण आगो तीव्र रूपमा फैलिएको प्रारम्भिक अनुमान गरिएको बताए।

ताजा अपडेट

नेपालवाच विशेष