NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन १५ गते

आफ्ना सांंसदहरूलाई बाेलाएर प्रधानमन्त्रीले भने– सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छ

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिपरेको स्पष्ट पारेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग आज भएको छलफलमा प्रधानमन्त्री शाहले राज्य संयन्त्रका सम्पूर्ण अंगहरू उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकलाई विचलित नहुन र संयमता अपनाउन आग्रह गरे ।

प्रधानमन्त्री शाहले सरकारको प्राथमिक ध्यान प्रभावित नागरिकसम्म पुग्नु, उनीहरूलाई सुरक्षाको प्रत्याभूति गराउनु र घटनाको निष्पक्ष छानबिन गर्नुमा रहेको बताए । शान्ति–सुरक्षालाई चुस्त–दुरुस्त राख्न र परिस्थितिलाई थप बिग्रन नदिन सरकारले बहुपक्षीय रणनीति अपनाएको प्रधानमन्त्री शाहले बताए ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले सबै सांसदहरूलाई आआफ्ना निर्वाचन क्षेत्रमा आत्मविश्वासका साथ पुगेर नागरिक र राज्यबीच सद्भावको बलियो पुल बन्न आह्वान गरे ।

अप्ठ्यारो र आपत्कालीन परिस्थितिमा जनताको घरदैलोमा पुगेर उनीहरूको दुःख–सुखमा उभिनु नै सांदहरुको वास्तविक दायित्व भएको उनले स्मरण गराए ।

सांसदहरूले पनि प्रधानमन्त्री शाहको अनुरोधलाई सकारात्मक रूपमा लिँदै आफूहरू तत्कालै आआफ्ना निर्वाचन क्षेत्रमा खटिने प्रतिबद्धता जनाए ।

उनीहरूले बिहीबार प्रधानमन्त्री शाहले राष्ट्रका नाममा गरेकाे सम्बोधनले देशैभर र विशेष गरी प्रभावित क्षेत्रका नागरिकमा सकारात्मक सन्देश, विश्वास र भरोसा जगाएको समेत उल्लेख गरे ।

स्थानीयस्तरमा दीर्घकालीन शान्ति र भ्रातृत्व कायम राख्नका लागि दुवै पक्षका धार्मिक गुरुहरू, नागरिक समाज, बुद्धिजीवी र स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूसँग सघन संवादको श्रृंखलालाई निरन्तरता दिनुपर्ने सुझाव सांसदहरूले प्रस्तुत गरेका थिए ।

साथै, तनावग्रस्त तथा आसपासका क्षेत्रहरूमा धार्मिक तथा सामाजिक सौहार्द कायम राख्ने गरी निरन्तर सकारात्मक र ऐक्यबद्धताको सन्देश प्रवाह गर्नुपर्ने तथा सामाजिक सञ्जालका भ्रम र अफवाहबाट युवा वर्गलाई जोगाउन स्थानीय स्तरमा जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकतामा सांसदहरूले जोड दिए ।

ताजा अपडेट

नेपालवाच विशेष