अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यो घट्यो
काठमाडौँ। अमेरिका र इरानबीच रणनीतिक रूपमा महत्त्वपूर्ण स्ट्रेट अफ होर्मुज पुनः सञ्चालन गर्ने विषयमा वार्ता सकारात्मक दिशातर्फ अघि बढेको संकेत मिलेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ।
मंगलबार ब्रेन्ट कच्चा तेलको मूल्य करिब ५ प्रतिशतले घट्दै प्रतिव्यारेल ८० डलरभन्दा तल झरेको छ । यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) को मूल्य पनि ५ प्रतिशतभन्दा बढी घटेर प्रतिव्यारेल ७६ डलर आसपास पुगेको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र अर्थमन्त्री स्कट बेसेन्टले होर्मुज जलडमरूमार्फत जहाज आवतजावत पुनः सुचारु गर्ने विषयमा प्रगति भइरहेको र मंगलबार वा बुधबारसम्म सम्झौता हुन सक्ने संकेत दिएका छन् । यद्यपि, इरानले भने अमेरिकासँग प्रत्यक्ष वार्ता नभएको र छलफल ओमानको मध्यस्थतामा भइरहेको जनाएको छ ।
फेब्रुअरी अन्त्यदेखि सुरु भएको अमेरिका–इरान तनावपछि इरानले होर्मुज क्षेत्रमा अधिकांश जहाज आवतजावत रोक्दै आएको छ भने अमेरिकाले इरानी बन्दरगाहमा नौसैनिक दबाब बढाएको छ । यसैबीच, इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबका लाल सागरस्थित बन्दरगाहहरूमा अवरोध सिर्जना गरेपछि वैकल्पिक समुद्री मार्गसमेत जोखिममा परेको छ ।
विश्वको प्रमुख तेल ढुवानी मार्गमध्ये एक होर्मुज जलडमरू खुला हुने सम्भावनाले आपूर्ति सहज हुने अपेक्षा बढेपछि लगानीकर्ताको चासो मूल्य घटाउने दिशातर्फ गएको विश्लेषकहरूले बताएका छन् ।


प्रतिक्रिया