फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ
वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउने प्रयास भए त्यो ‘ठूलो गल्ती’ हुने बताएका छन् । विश्वकपको केही हिस्सा निजी लगानीकर्तालाई सहभागी गराउने योजनाका कारण इन्फान्टिनोमाथि आलोचना भइरहेका बेला ट्रम्पले उनको बचाउ गरेका हुन् ।
युरोपेली फुटबल महासङ्घ (युइएफए), उत्तर तथा मध्य अमेरिकी फुटबल महासङ्घ (कोन्काकाफ) र एसियाली फुटबल महासङ्घ (एएफसी)का प्रमुखले संयुक्त रूपमा जारी गरेको खुला पत्रमा इन्फान्टिनोमाथि विश्वासघात गरेको आरोप लगाइएको छ ।
ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इन्फान्टिनोको पक्षमा धारणा सार्वजनिक गरेका हुन् । उनले इन्फान्टिनोलाई ‘असाधारण’ व्यक्तिको सङ्ज्ञा दिँदै अहिलेसम्मकै सफल विश्वकप आयोजना गरेको दाबी गरेका छन् ।
“कुनै पनि कारणले अध्यक्ष जियानी इन्फान्टिनोलाई हटाउनेबारे विचार गरिए पनि फिफाले ठूलो गल्ती गर्नेछ,” ट्रम्पले लेखेका छन् ।
गत महिना ट्रम्पले इन्फान्टिनोसँगै विश्वकपको फाइनल खेल हेर्नुभएको थियो । इन्फान्टिनोले गत वर्ष विश्वकपको खेल तालिका सार्वजनिक गर्ने समारोहमा ट्रम्पलाई ‘फिफा शान्ति पुरस्कार’ प्रदान गरेका थिए ।
ट्रम्पको समर्थन अमेरिकी फुटबल महासङ्घको अडानभन्दा फरक देखिएको छ । अमेरिकी फुटबल महासङ्घ इन्फान्टिनोको नेतृत्वको आलोचना गर्ने पक्षमा सामेल भएको छ ।
इन्फान्टिनोले विश्वकपलगायत फिफाका प्रतियोगितामा निजी लगानी भित्र्याउने योजना अघि सारेका थिए । तर युरोपेली फुटबल महासङ्घसहित विभिन्न निकायको तीव्र विरोधपछि उनले उक्त योजना फिर्ता लिएका थिए ।
युइएफए, कोन्काकाफ र एएफसीले सोमबार जारी गरेको संयुक्त पत्रमा फुटबलको नेतृत्व कुनै व्यक्तिको निजी सम्पत्ति नभएको उल्लेख गर्दै इन्फान्टिनोको नेतृत्वशैलीप्रति प्रश्न उठाइएको छ ।
उनीहरूले विश्वास तोडिएको अवस्थामा नेतृत्वले आफ्नो जिम्मेवारी त्याग्नुपर्ने उल्लेख गर्दै फिफा अध्यक्षमाथि निर्णय प्रक्रियामा पारदर्शिता र जवाफदेहिताको अभाव रहेको आरोप लगाएका छन् ।


प्रतिक्रिया