विपद्का बीच सरकारको सन्देश : ‘नेपाल बन्द छैन, भ्रमणका लागि खुला छ’
काठमाडौं । हालैको प्राकृतिक विपद्का कारण देशका केही क्षेत्रमा जनजीवन, घर, व्यवसाय तथा रोजगारी प्रभावित भए पनि नेपालका अधिकांश भूभागमा जनजीवन सामान्य रहेको सरकारले जनाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार सामाजिक सञ्जालमार्फत विपद्बाट प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सबैप्रति आभार प्रकट गरेको छ।
मन्त्रालयका अनुसार केही क्षेत्र प्रभावित भए पनि देशका अधिकांश स्थानमा मानिसहरू नियमित काममा फर्किएका छन्। आन्तरिक तथा बाह्य पर्यटकका लागि सुरक्षित रहेका गन्तव्यमा भ्रमण गतिविधि पनि सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ।
पर्यटन मन्त्रालयले विश्व समुदाय तथा अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रलाई नेपाल भ्रमणका लागि खुला रहेको सन्देश दिएको छ।
सरकारका अनुसार सुरक्षित गन्तव्यमा पर्यटकको आगमनले विपद्बाट प्रभावित समुदायलाई आर्थिक तथा सामाजिक रूपमा सहयोग पुग्नुका साथै स्थानीय रोजगारी, व्यवसाय र जीविकोपार्जनलाई निरन्तरता दिन योगदान पुर्याउनेछ।
पर्यटकलाई आवश्यक सूचना, सहायता तथा सहजीकरण उपलब्ध गराउन मन्त्रालयमा क्विक रेस्पोन्स टिम सञ्चालनमा ल्याइएको छ।
त्यस्तै, नेपाल पर्यटन बोर्डमा पर्यटन विभाग, पर्यटक प्रहरी तथा निजी क्षेत्रसँगको समन्वयमा पर्यटक सूचना डेस्क स्थापना गरिएको छ। उक्त डेस्कमार्फत पर्यटकलाई समयमै आवश्यक सूचना, सुरक्षा जानकारी तथा अन्य सहयोग उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।
सरकारले विपद्को कठिन समयमा नेपालसँग ऐक्यबद्धता जनाउँदै सुरक्षित र खुला रहेका गन्तव्यमा भ्रमण गर्न पर्यटक तथा अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ।
मन्त्रालयले भनेको छ, ‘यो नेपालसँग उभिने समय हो, नेपाल भ्रमण गर्ने समय हो। नेपालले तपाईंलाई बोलाइरहेको छ।’
ताजा अपडेट
-
विपद्का बीच सरकारको सन्देश : ‘नेपाल बन्द छैन, भ्रमणका लागि खुला छ’
-
प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन
-
भोटेकोशी बाढी जलवायु परिवर्तनकै असर : प्रधानमन्त्री शाह
-
भदौ १७ गतेदेखि प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने निर्णय
-
रोजगारीले रसुवा पुर्यायो, भोटेकोशीले घर फर्कन दिएन


प्रतिक्रिया