NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ २५ गते

भदौभित्रै कृष्णभीर सडक सञ्चालनमा ल्याउने लक्ष्य, २५० मिटर नयाँ ट्रयाक निर्माण तीव्र

काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गत बाढी तथा पहिरोका कारण अवरुद्ध बनेको कृष्णभीर सडक भदौ महिनाभित्रै सञ्चालनमा ल्याउने लक्ष्यसहित सरकारले निर्माण कार्य तीव्र पारेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १७ गते प्रतिनिधिसभामा सम्बोधन गर्दै भदौको अन्तिमसम्म कृष्णभीरको सडक निर्माण सम्पन्न गरी यातायात सहज बनाउने प्रतिबद्धता जनाएका थिए। सोही लक्ष्यअनुसार अहिले निर्माण कार्यलाई तीव्रता दिइएको हो।

कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना जनशक्ति परिचालन गरिएको छ। निर्माण कार्यलाई चौबीसै घण्टा निरन्तरता दिन सशस्त्र प्रहरी बल, नेपालले निर्माणस्थलमा फ्लडलाइट जडान गरेको छ। फ्लडलाइटको व्यवस्थापछि दैनिक १२ देखि १४ घण्टासम्म काम भइरहेको जनाइएको छ।

नयाँ ट्रयाक निर्माणसँगै सम्भावित पहिरो रोकथामका लागि सडकको माथिल्लो र तल्लो दुवै क्षेत्रमा काम भइरहेको छ। पृथ्वी राजमार्गकै अन्य पाँच स्थानमा गएको पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याउने कामसमेत समानान्तर रूपमा अघि बढाइएको छ।

भदौ १० गते आएको बाढीका कारण कृष्णभीर क्षेत्रको सडक कमजोर बनेको थियो। त्यसपछि भदौ १४ गते भोटेकोशीमा आएको बाढीले सडक थप भासिएपछि सोही दिन सरकारी टोलीले स्थलगत निरीक्षण गरेको थियो। घटनापछि प्रधानमन्त्री र पूर्वाधारमन्त्रीबीच सडकको तत्काल मर्मत तथा द्रुत अध्ययन गरेका थिए। अध्ययनपछि कृष्णभीरको पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्ने विकल्पलाई प्राथमिकताका यातायात सञ्चालनबारे छलफल भएको थियो।

त्यसक्रममा सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकहरूले चार दिनसम्म द्रुत अध्ययन गरेका थिए। अध्ययनपछि कृष्णभीरको पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्ने विकल्पलाई प्राथमिकताका साथ अघि बढाइएको हो।

सरकारले निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउँदै भदौ मसान्तभित्रै सडक सञ्चालनमा ल्याउने र राजमार्गमा यातायात सहज बनाउने लक्ष्य लिएको छ।

ताजा अपडेट

नेपालवाच विशेष