NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ २६ गते

चिलिमेको सुरुङमा फसेकाको उद्धार गर्न कुलमान फिल्डमा

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धार कार्यमा सघाउन पूर्वमन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ फिल्डमा पुगेका छन् । उनले त्यहाँ उद्धारकर्मीहरूलाई आवश्यक प्राविधिक सहायता र समन्वय प्रदान गरिरहेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट् गर्दै घिसिङले विद्युतगृह सञ्चालनको अनुभवका आधारमा उद्धार टोलीलाई आवश्यक प्राविधिक सुझाव तथा समन्वय एवम् सहजीकरण गरिरहेको जनाएका छन् । चिलिमे जलविद्युत् आयोजनाका पूर्व प्रबन्ध निर्देशक समेत रहेका घिसिङसँग उक्त जलविद्युत् गृह सञ्चालनको अनुभवसमेत छ ।

‘चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीहरूको उद्धार कार्यमा सहभागी भएको छु।उक्त विद्युतगृहको प्रवर्धक चिलिमे जलविद्युत कम्पनीको प्रबन्ध–निर्देशकका रूपमा विद्युतगृह सञ्चालनको अनुभवका आधारमा उद्धार टोलीलाई आवश्यक प्राविधिक सुझाव तथा समन्वय एवम् सहजीकरण गरिरहेको छु,’ घिसिङले फेसबुकमा लेखेका छन् ।

उनका अनुसार अहिले विद्युतगृह जाने मुख्य पहुँच सुरुङमा ठूलो मात्रामा जम्मा भएको लेदो सहितको बालुवा, ढुंगा हटाएर अहिले उद्धार टोली निरन्तर अगाडि बढिरहेको छ। सुरुङ साँघुरिएको स्थानबाट करिब १२० मिटर भित्रबाट आवाज पठाउँदा त्यसको इको सुनिएको उनले जनाएका छन्। ‘त्यहाँबाट चिसो हावा समेत आइरहेकोले सुरुङभित्र फसेका व्यक्तिहरू सकुशल रहेको हुनसक्ने आशा र अनुमानलाई बल पुगेको छ,’ घिसिङले लेखेका छन् ।

विद्युतगृह पुग्न अब करिब १०० मिटर बाँकी रहेको उल्लेख गर्दै उनले यो अवस्थामा प्रत्येक मिटरको प्रगति र प्रत्येक संकेतले नयाँ आशा जगाएको उल्लेख गरेका छन् ।

स्याफ्रुवेसीतिरबाट सुरुङसम्मको बाटो खुलाउने कामसमेत सँगै अघि बढाइएको छ । आजै सुरुङमा स्काभेटर पुग्ने सम्भावना र स्काभेटर र लोडर पुगेपछि उद्धार कार्यमा तीव्रता आउने घिसिङको भनाइ छ ।

यही भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले तटीय क्षेत्रमा ठूलो धनजनको क्षति पु–याएको छ । बाढीका कारण विभिन्न विद्युत् गृहको सुरुङमा मानिसहरू फसेकोमा केहीको जीवितै उद्धार भएको छ भने कतिपयको उद्धार हुन बाँकी छ ।

ताजा अपडेट

नेपालवाच विशेष