कर्णालीको हुम्लामा भारी वर्षा, सन् १९७८ पछिकै ठूलो वर्षा
कर्णाली- पानी पार्ने प्रणाली पश्चिम सरेसँगै कर्णाली प्रदेशको हुम्लामा भारी वर्षा भएको छ। यो सन् १९७८ पछिको ठूलो वर्षा हो।
असोज ९ गते शुक्रबार दिउँसो १ः०० बजेदेखि १० गते शनिबार दिउँसो १ः०० बजेसम्मको २४ घण्टाको मापन अनुसार हुम्लाको सदरमुकाम सिमकोटमा ११४ दशमलव ८ मिलिमिटर वर्षा भएको मौसम तथा जलवायु विज्ञान कार्यालय सुर्खेतका कार्यालय प्रमुख डा.इन्दिरा कँडेलले जानकारी दिइन्।
उनका अनुसार सन् २०२१ मा सिमकोटमा ११० मिलिमिटर र २०१५ मा ९८ मिलिमिटर वर्षा भएको थियो।
उनले भनिन्, ‘हुम्लाको हिसाबमा ११४ दशमलव ८ मिलिमिटर पानी पर्नु भनेको यो विषम वर्षा हो। यो रेकर्ड ब्रेक वर्षा पनि हो। समुद्री सतहदेखि दुई हजार ९९३ मिटर उचाइमा रहेको हुम्ला सदरमुकाम सिमकोटमा १४ हजार ११३ दिन वर्षा मापन गरिएको थियो। जसमा एक मिलिमिटरभन्दा बढी वर्षा भएको दिन तीन हजार ७९४ को अभिलेख छ।’
उनका अनुसार वर्षा भएको तीन हजार ७९४ दिन मध्ये १०० मिलिमिटरभन्दा बढी वर्षा भएको एक दिन, ७५ मिलिमिटरभन्दा बढी वर्षा भएको ६ दिन र ५० मिलिमिटरभन्दा बढी वर्षा भएको १२ दिन रहेको जल तथा मौसम विज्ञान विभागको तथ्यांकमा अभिलेख गरिएको छ।
त्यसैगरी, असोज ९ गते शुक्रबार दिउँसो १ः०० बजेदेखि १० गते शनिबार दिउँसो १ः०० बजेसम्मको २४ घण्टाको वर्षा मापन गर्दा सुर्खेत वीरेन्द्रनगरमा भने ७५ दशमलव ५ मिलिमिटर पानी परेको बताउँदै उनले कर्णालीमा भारी वर्षा भएको बताइन्।
भारी वर्षाका कारण हुम्ला, जाजरकोट, कालीकोट, मुगु, जुम्ला, सल्यान जिल्लाका विभिन्न स्थानमा पहिरो गएको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन्।
ताजा अपडेट
-
कर्णालीको हुम्लामा भारी वर्षा, सन् १९७८ पछिकै ठूलो वर्षा
-
सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता
-
१३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
-
अधिकांश जिल्लामा कांग्रेसको क्षेत्रीय अधिवेशन , यसरी चुनिन्छन् नेतृत्व र प्रतिनिधि
-
नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना


प्रतिक्रिया