बंगालको खाडीमा विकसित मौसमी प्रणालीले नेपाल प्रभावित हुन सक्ने
काठमाडौँ । दक्षिणपूर्वी बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्र चक्रवातमा परिणत भई नेपालमा समेत मौसम प्रभावित हुन सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ ।
महाशाखाले शुक्रबार राति विशेष मौसम बुलेटिन जारी गरी पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा न्यून चापीय क्षेत्र विकसित भएको जनाएको हो ।
उक्त प्रणाली क्रमशः बलियो हुँदै कात्तिक ९ गते सोमबार चक्रवातमा विकसित हुने र पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तटबाट जमिनमा प्रवेश गर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस मौसम प्रणालीका कारण आगामी कात्तिक ११ गते बुधबारदेखि कात्तिक १५ गते आइतबारसम्म नेपालको मौसम प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।
यद्यपि, उक्त प्रणालीका कारण नेपालमा कति वर्षा हुने, जोखिमको स्तर कस्तो रहने र त्यसबाट कस्तो असर पर्न सक्ने भन्ने विषयमा अहिले नै यकिन गर्न नसकिने महाशाखाले स्पष्ट पारेको छ ।
सम्भावित प्रतिकूल मौसमले कृषि तथा पर्यटन क्षेत्रमा असर पार्न सक्ने भएकाले सम्बन्धित सबैलाई सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाले मौसम प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाउँदै आवश्यकताअनुसार थप सूचना अद्यावधिक गरिने जनाएको छ । मौसमसम्बन्धी आधिकारिक तथा अद्यावधिक जानकारीका लागि विभागबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्न पनि आग्रह गरिएको छ ।
ताजा अपडेट
-
बंगालको खाडीमा विकसित मौसमी प्रणालीले नेपाल प्रभावित हुन सक्ने
-
एउटै फर्सीको तौल १४३१ किलो, विश्व कीर्तिमान तोड्ने दाबी
-
‘पोलियो डे’मा सात सम्पदामा साइकल र्याली, चिरीबाबु महर्जन र सुनिता डंगोल पनि सहभागी हुने
-
मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा
-
विश्व हिउँ चितुवा दिवस: जलवायु परिवर्तनले वासस्थानमा ह्रास


प्रतिक्रिया