NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक ९ गते

ब्राजिलमा राष्ट्रपति पदका लागि निर्णायक मतदान, लुला र फ्लाभियोबीच कडा प्रतिस्पर्धा

काठमाडौं- ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र रहेको ब्राजिलमा राष्ट्रपति पदका लागि आज दोस्रो तथा निर्णायक चरणको मतदान हुँदैछ। वर्तमान राष्ट्रपति ८० वर्षीय लुला दा सिल्भा र ४६ वर्षीय सिनेटर फ्लाभियो बोल्सोनारोबीच भइरहेको यो प्रतिस्पर्धाले ब्राजिलको आगामी राजनीतिक भविष्य र अन्तर्राष्ट्रिय सम्बन्धको दिशा तय गर्नेछ।

पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि चुनाव दोस्रो चरणमा प्रवेश गरेको हो। पहिलो चरणमा फ्लाभियो बोल्सोनारोले ४७ प्रतिशत र लुलाले ४५ प्रतिशत मत प्राप्त गरेका थिए। लुला आफ्ना प्रतिस्पर्धीभन्दा करिब २२ लाख मतले पछाडि रहेका थिए। निर्वाचन पूर्वका जनमत सर्वेक्षणहरूले फ्लाभियोलाई ५० प्रतिशत र लुलालाई ४९ प्रतिशत मत मिल्ने प्रक्षेपण गरेका छन्, जसले दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखाएको छ।

गत अक्टोबर २३ मा भएको अन्तिम टेलिभिजन बहसमा उम्मेदवारहरूले महँगी, अपराध र भ्रष्टाचारका मुद्दामा केन्द्रित रहेर एक-अर्काको आलोचना गरेका थिए। चौथो पटक राष्ट्रपति बन्ने दाउमा रहेका लुलाले आफ्नो सरकारले न्यूनतम ज्याला बढाउन र गरिब परिवारको जीवनस्तर उकास्न काम गरेको दाबी गरेका छन्। यता, वकिलसमेत रहेका फ्लाभियोले देशको बढ्दो महँगी, नागरिकको कर्जाको बोझ र असुरक्षालाई मुख्य चुनावी मुद्दा बनाएका छन्। फ्लाभियोले आफ्ना पिता तथा पूर्वराष्ट्रपति जायर बोल्सोनारोको दक्षिणपन्थी राजनीतिक एजेन्डालाई अगाडि बढाइरहेका छन्। जायर बोल्सोनारोलाई तख्तापलटको षड्यन्त्रसम्बन्धी मुद्दामा २७ वर्षको जेल सजाय तोकिएको छ।

गत अक्टोबर ४ मा भएको पहिलो चरणको मतदानमा करिब ३ करोड ३४ लाख मतदाताले भाग लिएका थिएनन्। ब्राजिल ब्रिक्सको संस्थापक सदस्य राष्ट्रसमेत रहेकाले यहाँको राजनीतिक परिवर्तनले विश्व अर्थतन्त्र र कूटनीतिमा प्रभाव पार्ने अपेक्षा गरिएको छ। मतदान सकिएलगत्तै मतगणना प्रक्रिया सुरु हुनेछ।

ताजा अपडेट

नेपालवाच विशेष