NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक ९ गते

असोजमा झण्डै ६ अर्ब रुपियाँको विद्युत् निर्यात

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपियाँ बराबरको विद्युत निर्यात गरेको छ ।

बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आव भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको छ । यसैबीच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत निर्यात पनि पुनः सुरु भएको छ ।

नेपाल विद्युत प्राधिकरणको विद्युत प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र) को तथ्याङ्कअनुसार असोज महिनामा भारततर्फ कुल ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत निर्यात भएको छ । उक्त विद्युत बिक्रीबाट ५ अर्ब ९२ करोड ५० लाख रुपियाँ बराबरको कारोबार भएको हो ।

असोज महिनामा भारततर्फ विद्युत निर्यात दुई माध्यमबाट गरिएको थियो । द्विपक्षीय विद्युत बिक्री सम्झौताअनुसार भारतको हरियाणा तथा बिहार राज्यमा विद्युत बिक्री गरिएको थियो भने बाँकी विद्युत भारतीय ऊर्जा विनिमय बजारको डे—अहेड तथा रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो ।

प्राधिकरणले देशभित्रको माग पूरा गरी बचत भएको वर्षायामको विद्युत प्रत्येक वर्ष भारत एवम् बंगलादेशमा निर्यात गर्दै आएको छ । द्विपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौताअनुसार हरियाणा तथा बिहार राज्यमा जुनदेखि अक्टोबरसम्म विद्युत बिक्री गरिन्छ ।

गत वर्ष २०८२ को असोज महिनामा भारततर्फ विद्युत निर्यातबाट ४ अर्ब ९६ करोड ३० लाख रुपियाँ बराबरको कारोबार भएको थियो । चालु आर्थिक वर्षको भदौमा यस्तो कारोबार रकम ५ अर्ब ९ करोड २५ लाख रुपियाँ रहेको थियो । यसअनुसार गत वर्षको असोजको तुलनामा यस वर्षको असोजमा निर्यात कारोबार रकम ९६ करोड २० लाख रुपैयाँले र भदौको तुलनामा ८३ करोड २५ लाख रुपैयाँले बढेको छ । चालु आवको पहिलो तीन महिना साउन, भदौ र असोजमा विद्युत निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बाढीका कारण निर्यातका लागि स्वीकृति प्राप्त केही जलविद्युत आयोजनाको उत्पादन बन्द भए पनि असोज महिनामा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको बताउनुभयो । उहाँका अनुसार असोज महिनामा भारततर्फ निर्यात गरिएको कुल विद्युत परिमाणमध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौताअनुसार र बाँकी आइएक्समार्फत बिक्री गरिएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष