NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक १५ गते

अर्नब चक्रवात र पश्चिमी वायुको प्रभाव : देशभर वर्षा

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात र पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ।

महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाले आज अपराह्नपछि अर्नब चक्रवातको प्रभाव बिस्तारै कमजोर हुँदै जाने जनाएको छ।

आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा तथा गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साथै, कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। त्यसैगरी, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान महाशाखाले जनाएको छ।