कात्तिकमै मुस्ताङमा ३ फिट हिउँ, जनजीवन प्रभावित
काठमाडौं- अर्नब चक्रवातको प्रभावका कारण मुस्ताङमा शुक्रबार रातिदेखि भारी हिमपात र वर्षा भइरहेको छ। हिमपातका कारण जनजीवन प्रभावित हुनुका साथै जोमसोम-कोरला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलका अनुसार लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बाक्लो हिमपात भइरहेको छ भने वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङदेखि तल्लो क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। नेपाल-चीन सीमास्थित कोरला नाका र आसपासका क्षेत्रमा २ देखि ३ फिटसम्म हिउँ जमेको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्टले जनाएको छ।
सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालले हिमपातका कारण जोखिम बढेपछि कोरलातर्फको सडकमा सवारीसाधन र पर्यटकको आवागमन रोकिएको जानकारी दिए। भन्सार जाँचपास भइसकेका कन्टेनर र विद्युतीय सवारीसाधनलाई समेत सुरक्षित स्थानमा रहन र मौसम सामान्य नभएसम्म व्यापारिक कारोबार नगर्न प्रशासनले आग्रह गरेको छ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी गुरुङले कात्तिक महिनामै यति बाक्लो हिमपात पहिलोपटक भएको बताए। यसले उपल्लो मुस्ताङका बस्ती, खर्क र उच्च लेकाली क्षेत्र ढाकिएका छन्। भारी हिमपातसँगै बढेको चिसोले स्थानीयको दैनिकी कष्टकर बनेको छ।
यसैबीच, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ईश्वर महतले वर्षाका कारण जोमसोमदेखि माथिको सडक र छुसाङ क्षेत्रमा पहिरो खसेपछि यातायात सेवा ठप्प भएको जानकारी दिए। प्रशासनले मुस्ताङमा रहेका पर्यटक, सर्वसाधारण र चालकहरूलाई सुरक्षा सावधानी अपनाउन अनुरोध गरेको छ।


प्रतिक्रिया