NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक २६ गते

आज भाइटीका, ११:७ बजेको साइत उत्तम

काठमाडौं- नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज देशभर भाइटीका पर्व मनाइँदै छ। कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने यस पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा र निष्ठाका साथ टीका लगाइदिने गर्दछन्।

यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने गर्दछन्। टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने चलन छ। धार्मिक मान्यताअनुसार दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने विश्वास गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज दिनभर भाइटीका लगाउन कुनै बाधा नभएको जनाएको छ। यद्यपि, साइत खोज्नेहरूका लागि बिहान ११:७ बजेको समय उत्तम रहेको समितिले जानकारी दिएको छ। यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले स्पष्ट पारेको छ।

आजको दिन लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना र धर्मराजलगायतका देवताको पूजा आराधना गरिन्छ। दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर टीका लगाइदिने र मखमली, सयपत्री वा गोदावरी फूलको माला लगाइदिने परम्परा छ। टीकापछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला र सेलरोटी जस्ता खानेकुरा दिने गर्दछन्। दाजुभाइले पनि आफ्नो गच्छेअनुसार दिदीबहिनीलाई कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने सामाजिक परम्परा रहेको छ।