NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक २९ गते

छठ पर्वको दोस्रो दिन : आज मनाइँदै छ ‘खरना’

महोत्तरी- मधेसको प्राचीन मिथिला क्षेत्रमा चार दिने छठ पर्वको उल्लास छाएको छ। पर्वको दोस्रो दिन आज बर्तालुहरू ‘खरना’ विधिको तयारीमा छन्। यसअघि शुक्रबार बर्तालुले ‘नहाय-खाय’ विधि पूरा गर्दै व्रत सङ्कल्प गरिसकेका छन्।

खरनाका दिन बर्तालुहरू दिनभरि निराहार उपवास बस्छन्। बेलुका चन्द्र दर्शन गरेपछि माटोको नयाँ चुलोमा सख्खर, दूध र स्थानीय धानको चामल प्रयोग गरी खीर पकाइन्छ। उक्त खीर केराको पातमा राखेर कुल देवता र छठी देवीलाई चढाइन्छ। त्यसपछि बर्तालु र परिवारका सदस्यहरूले प्रसादको रूपमा सोही खीर ग्रहण गर्छन्।

छठलाई मिथिलामा श्रद्धा, निष्ठा र आत्मशुद्धिको महापर्व मानिन्छ। पर्वको तेस्रो दिन भोलि बिहीबार जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिइन्छ, जसलाई ‘सझुका अरख’ भनिन्छ। त्यसको भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिएपछि पर्व समापन हुन्छ। पूजाका लागि ठकुवा र भुसुवा जस्ता परिकार ढिकी-जाँतोमा कुटिएको पिठोबाट तयार गरिन्छ।

पछिल्लो समय छठ पर्व सबै समुदायको साझा बन्दै गएको छ। भङ्गाहा-५ स्थित माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोहरप्रसाद यादवका अनुसार, पहिले मधेसी हिन्दूले मात्र मनाउने यो पर्वमा अहिले पर्वते हिन्दू र इस्लाम धर्मावलम्बीहरूको समेत सहभागिता बढ्दै गएको छ। सबै धर्म र जातिका मानिसहरू सामेल हुने भएकाले नै यसलाई लोकआस्थाको महापर्व भनिएको हो।

ताजा अपडेट

नेपालवाच विशेष