NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक २९ गते

नेपाल टेलिकमको खुद नाफा ३७.३५ प्रतिशतले बढ्यो

काठमाडौं – नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ३७.३५ प्रतिशतले वृद्धि भएको छ। असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले १ अर्ब ८२ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आय ८ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा ०.०१ प्रतिशतले बढी हो। यस अवधिमा कम्पनीको वार्षिकीकृत प्रति सेयर आम्दानी (ईपीएस) ४० रुपैयाँ ४५ पैसा कायम भएको छ। तलब स्केल समायोजनका कारण कर्मचारी खर्च बढे पनि ह्रास खर्चमा कमी र मूल्यह्रास क्षति फिर्ता समायोजनका कारण खुद खर्च ५.९० प्रतिशतले घटेको टेलिकमले जनाएको छ।

प्राकृतिक विपद्का कारण कम्पनीको सेवा र राजस्वमा भने प्रतिकूल असर परेको छ। भदौ १० मा रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी र असोज २५ मा बुढीगण्डकी नदीमा आएको बाढीका कारण सेवा अवरुद्ध हुँदा व्यावसायिक गतिविधिमा प्रभाव परेको थियो। प्रभावित क्षेत्रका सेवाग्राहीलाई १७ दिनसम्म निःशुल्क डेटा तथा भ्वाइस सेवा उपलब्ध गराउँदा राजस्व प्रभावित भएको कम्पनीले उल्लेख गरेको छ।

यसका बाबजुद जीएसएम र एफटिटिएच सेवातर्फको कार्य सञ्चालन राजस्वमा भएको वृद्धिले सहयोग पुर्‍याएको छ। कम्पनीको कर अघिको नाफा गत वर्षको तुलनामा ३.६५ प्रतिशतले बढेर २ अर्ब ९८ करोड ७४ लाख रुपैयाँ पुगेको छ। टेलिकमले दुर्गम क्षेत्रमा सेवा विस्तार र गुणस्तर सुधारलाई आफ्नो प्राथमिकतामा राख्दै सेवा प्रवाहलाई निरन्तरता दिइरहेको जनाएको छ।

ताजा अपडेट

नेपालवाच विशेष