विद्युत खरिद सम्झौता नभएपछि प्राधिकरणले नयाँ बोलपत्र आह्वान गर्ने
काठमाडौं – नेपाल विद्युत प्राधिकरणले आगामी सुख्खायाममा विद्युत आपूर्ति सहज बनाउन भारतबाट १५० मेगावाट विद्युत खरिद गर्ने प्रक्रिया अघि बढाएको छ। प्राधिकरणले जनवरी २०२७ देखि मे २०२७ सम्मका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी गरेको छ। यसअघि एनटीपीसी ट्रेडिङ कर्पोरेसन लिमिटेडले प्रतियुनिट ६ रुपैयाँ ९० पैसा भारतीय रुपैयाँमा विद्युत उपलब्ध गराउने प्रस्ताव गरे पनि उक्त कम्पनीले पछिल्लो समय सम्झौता गर्न नसक्ने जानकारी गराएपछि प्राधिकरणले नयाँ प्रक्रिया थाल्ने निर्णय गरेको हो।
प्राधिकरण सञ्चालक समिति सदस्य अंशु किरण शाहीका अनुसार १५० मेगावाट विद्युत राउन्ड द क्लक (आरटीसी) मोडमा खरिद गर्ने योजना छ। एनटीपीसीले भूराजनीतिक अनिश्चितता, इन्धनको मूल्य वृद्धि र भारतमा बढ्दो विद्युत मागलाई कारण देखाउँदै पुरानो दरमा सम्झौता गर्न अस्वीकार गरेको थियो। यसअघि मनिकरण इनर्जी लिमिटेडले ८ रुपैयाँ ५० पैसा र एसजेभीएन लिमिटेडले ९ रुपैयाँ दर प्रस्ताव गरेका थिए।
पछिल्ला वर्षहरूमा सुख्खायाममा आन्तरिक उत्पादनले माग धान्न नसक्दा प्राधिकरणले भारतीय पावर एक्सचेन्जको डे अहेड मार्केट (डीएएम) र रियल टाइम मार्केट (आरटीएम) बाट विद्युत खरिद गर्दै आएको छ। यस वर्ष भोटेकोसी नदीमा आएको बाढीका कारण निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजनाहरूबाट करिब ४३० मेगावाट विद्युत प्रणालीबाट बाहिरिएको छ। आगामी सुख्खायाममा राष्ट्रिय प्रणालीमा ३०० मेगावाट क्षमताका नयाँ आयोजना जोडिने अपेक्षा गरिए पनि नदीको बहाव घट्दा करिब ९० मेगावाट मात्रै थप उत्पादन हुने अनुमान छ।
प्राधिकरणको विद्युत व्यापार विश्लेषण समितिले गत भदौ २५ गते नै १५० मेगावाट विद्युत आरटीसी मोडमा खरिद गर्न सिफारिस गरेको थियो। पछिल्लो समय भारतीय बजारमा विद्युतको मूल्यमा भएको वृद्धिले आपूर्ति व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ। असोज २०८३ मा भारतीय बजारको डे अहेड मार्केटमा औसत मूल्य प्रतियुनिट ७ रुपैयाँ ३४ पैसा भारतीय रुपैयाँ पुगेको थियो। माग र आपूर्तिको सन्तुलन मिलाउन प्राधिकरणले प्रतिस्पर्धी दरमा विद्युत खरिद गर्ने गरी नयाँ बोलपत्र आह्वान गर्न लागेको हो।
ताजा अपडेट
-
विद्युत खरिद सम्झौता नभएपछि प्राधिकरणले नयाँ बोलपत्र आह्वान गर्ने
-
सुक्खायामको बिजुली संकट टार्न भारतबाट १५० मेगावाट खरिद गर्ने तयारी
-
साइबर तथा डिजिटल ठगीबारे उजुरी गर्न १२४७ नम्बर सार्वजनिक
-
चितवनलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा
-
चितुवा र दुम्सीको आतंकले किसान चिन्तित

प्रतिक्रिया