आज महिला हिंसा उन्मूलन दिवस, प्रत्येक १० मिनेटमा १ महिला तथा बालिकाको हत्या
काठमाडौँ – आज २५ नोभेम्बर अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
महिला तथा बालिकामाथि हुने हिंसा मानवअधिकार उल्लङ्घनको व्यापक स्वरूप भएको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघले यसको अन्त्यका लागि कानुनी व्यवस्था, न्यायमा पहुँच र जनचेतना अभिवृद्धिमा जोड दिँदै आएको छ ।
यसैबीच, विश्वभर प्रत्येक १० मिनेटमा एक महिला वा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या हुने गरेको तथ्य सार्वजनिक भएको छ । राष्ट्रसंघीय लागुऔषध तथा अपराध कार्यालय र संयुक्त राष्ट्रसंघीय महिला निकायले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वभर करिब ५० हजार महिला तथा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या भएको थियो । यो संख्या दैनिक औसत १३७ हो ।
महिला तथा बालिकामाथि हुने हिंसाका विभिन्न स्वरूपमध्ये हत्या सबैभन्दा चरम अवस्था हो । उनीहरूमाथि हुने हिंसा प्रायः लामो समयदेखिको दुर्व्यवहार, धम्की, नियन्त्रण र असमान शक्ति सम्बन्धसँग जोडिएको प्रतिवेदनले औँल्याएको छ ।
महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय समुदायले विभिन्न कानुनी तथा नीतिगत प्रयास गर्दै आएको छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् १९७९ मा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि पारित गरेको थियो । त्यसैगरी, सन् १९९३ मा महिलाविरुद्ध हुने हिंसा उन्मूलनसम्बन्धी घोषणापत्र जारी गरिएको थियो ।
महिला अधिकारकर्मीले सन् १९८१ देखि २५ नोभेम्बरलाई लैङ्गिक हिंसाविरुद्धको दिवसका रूपमा मनाउँदै आएका छन् । २५ नोभेम्बर १९६० मा डोमिनिकन गणतन्त्रका तत्कालीन शासक राफेल त्रुजिलोको आदेशमा राजनीतिक गतिविधिमा संलग्न मिराबल दिदीबहिनीको हत्या गरिएको घटनाको स्मरणमा यो दिन छनोट गरिएको हो ।
संयुक्त राष्ट्रसङ्घको महासभाले १७ डिसेम्बर १९९९ मा यससम्बन्धी प्रस्ताव पारित गरी २५ नोभेम्बरलाई महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा औपचारिक मान्यता दिएको हो । त्यसयता सदस्य राष्ट्र, अन्तर्राष्ट्रिय संस्था र गैरसरकारी संस्थालाई यस दिन चेतनामूलक कार्यक्रम आयोजना गर्न आह्वान गरिँदै आएको छ ।
आजैदेखि १० डिसेम्बर अर्थात् मानवअधिकार दिवससम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पनि सञ्चालन गरिन्छ । अभियानले महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार, नागरिक समाज र समुदायको सामूहिक प्रयास आवश्यक रहेको सन्देश प्रवाह गर्दै आएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले महिला तथा बालिकामाथिको हिंसा सबै देश र समुदायलाई प्रभावित पार्ने विश्वव्यापी लज्जाको विषय भएको उल्लेख गर्दै यसको अन्त्यका लागि न्याय सुनिश्चित गर्न र रोकथामका प्रयासलाई तीव्र बनाउन आह्वान गरेका छन् ।
यस दिवसका अवसरमा जारी सन्देशमा उनले हिंसापीडितलाई कानुनी सहायता, स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श र सुरक्षित आश्रयको व्यवस्था गर्न तथा हिंसासम्बन्धी कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारहरूलाई आग्रह गरेका छन् ।
यसै अवसरमा राष्ट्रसंघकी उपमहासचिव अमिना मोहम्मदले हिंसापीडित महिलालाई संरक्षण र न्याय उपलब्ध गराउन तथा दोषीलाई जवाफदेही बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएकी छन् ।
ताजा अपडेट
-
आज महिला हिंसा उन्मूलन दिवस, प्रत्येक १० मिनेटमा १ महिला तथा बालिकाको हत्या
-
दशौं राष्ट्रिय खेलकुद : आज दोस्रो दिन यी पाँच खेलमा प्रतिस्पर्धा
-
काठमाडौँ उपत्यकामा निरन्तर घट्दै न्यूनतम तापक्रम
-
अयोध्या-जनकपुर रेल सेवा: सर्वसाधारणले कहिलेदेखि चढ्न पाउँछन् ?
-
एनपीएलमा होम एन्ड अवे प्रणालीबारे मन्त्रालय र फ्रेन्चाइजबीच छलफल

प्रतिक्रिया