NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर १३ गते

मेदान्ता र किस्ट मेडिकल कलेजबिच चिकित्सकीय सहकार्यको एक वर्ष पूरा

काठमाडौं/ भारतको गुरुग्रामस्थित मेदान्ता–द मेडिसिटी र नेपालको किस्ट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलबिच चिकित्सकीय सहकार्य सुरु भएको एक वर्ष पूरा भएको छ।

यस अवसरमा दुवै संस्थाले हृदयरोग तथा छातीको शल्यचिकित्सामा विकसित नवीनतम प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग र आधुनिक उपचार पद्धतिबारे विशेषज्ञस्तरीय अन्तर्क्रिया गरेका छन्।

काठमाडौंको लाजिम्पाटस्थित होटेल रेडिसनमा आयोजित ‘सहकार्यमा चिकित्सकीय तथा शल्यचिकित्सकीय उत्कृष्टता’ विषयक कार्यक्रममा नेपाल र भारतका वरिष्ठ चिकित्सकहरूले आधुनिक प्रविधिको प्रयोगमार्फत उपचार सेवालाई थप प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउने विषयमा अनुभव आदानप्रदान गरेका थिए।

कार्यक्रममा मेदान्ताका अध्यक्ष तथा प्रबन्ध निर्देशक एवं अन्तर्राष्ट्रिय ख्यातिप्राप्त हृदयरोग विशेषज्ञ डा. नरेश त्रेहानले हृदयरोगको पहिचान, उपचार तथा शल्यक्रियामा एआई प्रविधिको बढ्दो भूमिकाबारे प्रकाश पारे।

उनले एआईको प्रयोगबाट जटिल चिकित्सकीय तथ्यांक तथा स्वास्थ्यसम्बन्धी तस्बिरहरूको विश्लेषण गर्न, उच्च जोखिममा रहेका बिरामीको समयमै पहिचान गर्न र उपयुक्त उपचार योजना बनाउन चिकित्सकलाई सहयोग पुग्ने बताए। उनका अनुसार एआई प्रविधि चिकित्सकको निर्णय क्षमताको विकल्प नभई उपचार प्रक्रियालाई थप प्रभावकारी बनाउने सहयोगी माध्यम हो।

‘प्रविधि त्यति वेला सबैभन्दा उपयोगी हुन्छ, जति वेला यसले उपचारमा संलग्न चिकित्सकको निर्णय क्षमतालाई प्रतिस्थापन नगरी त्यसलाई सहयोग पुर्याउँछ,’ डा. त्रेहानले भने।

उनले आधुनिक प्रविधिको प्रयोगको अन्तिम उद्देश्य बिरामीको उपचार परिणाममा सुधार ल्याउनु र उन्नत स्वास्थ्य सेवालाई बढीभन्दा बढी मानिसको पहुँचमा पुर्याउनु हुनुपर्नेमा जोड दिए।

त्यसैगरी, मेदान्ता गुरुग्रामस्थित छातीको शल्यचिकित्सा, क्यान्सर तथा फोक्सो प्रत्यारोपण संस्थानका अध्यक्ष डा. अरविन्द कुमारले छातीको शल्यचिकित्सामा एआईको प्रयोग र यसको सम्भावनाबारे प्रस्तुति दिएका थिए।

उनले एआई प्रविधिले रोगका असामान्य लक्षण प्रारम्भिक चरणमै पहिचान गर्नेदेखि जटिल शल्यक्रियाको योजना बनाउनसम्म चिकित्सकलाई सहयोग पुर्याइरहेको बताए। यद्यपि, बिरामीलाई सुरक्षित र प्रभावकारी उपचार प्रदान गर्न शल्यचिकित्सकको अनुभव तथा विभिन्न चिकित्सा विधाका विशेषज्ञबिचको समन्वय उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।

कार्यक्रममा किस्ट टिचिङ हस्पिटलका प्रबन्ध निर्देशक डा. अभिषेक थापा, हृदय शल्यचिकित्सा विभागका प्रमुख तथा प्रमुख परामर्शदाता डा. रमेश कोइराला र नेपाल सरकारको अंग प्रत्यारोपण समन्वय समितिका अध्यक्ष एवं छाती तथा रक्तनली शल्यचिकित्सा विभागका प्रमुख डा. सम्पूर्णमान तुलाधरलगायत चिकित्सक तथा स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो।

एक वर्षको सहकार्यले नेपाल र भारतका चिकित्सकबिच ज्ञान, सिप तथा अनुभव आदानप्रदानका थप अवसर सिर्जना गरेको दुवै संस्थाले विश्वास व्यक्त गरेका छन्। आधुनिक प्रविधिको जिम्मेवार प्रयोग र विशेषज्ञ चिकित्सकबिचको सहकार्यबाट नेपाली बिरामीले पनि गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।

ताजा अपडेट

नेपालवाच विशेष