उखुको न्यूनतम खरिद मूल्य तोकियो

काठमाडाैं । सरकारले चालु आर्थिक वर्ष २०७९/०८० का लागि उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम समर्थन मूल्य तोकेको हो ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार उखुको उत्पादन लागत, ढुवानी भाडा र मुनाफासमेत गरी कृषकले उत्पादन गरेको उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल पाँच सय ४० रूपैयाँ निर्धारण गरिएको हो । यो मूल्य गत आर्थिक वर्षको भन्दा प्रतिक्विन्टल २० रूपैयाँले बढी हो । गत आर्थिक वर्ष सरकारले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल पाँच सय २० रूपैयाँ तोकेको थियो ।
उखु किसानलाई सरकारले दिने अनुदान भने यथावत् राखिएको छ । ‘उखु किसानलाई अनुदान दिनेसम्बन्धी कार्यविधि, २०७५ को दफा ३ को उपदफा ३ अनुसार चालु आर्थिक वर्षका लागि सरकारले उखु किसानलाई दिने अनुदान भने यथावत् राखिएको छ । यस वर्ष पनि उखु किसानले प्रतिक्विन्टल रु ७० अनुदानका रूपमा पाउनेछन्,’ कृषि मन्त्रालयले विज्ञप्तिमा भनेको छ । सरकारले उपलब्ध गराउने अनुदान रकमसमेत जोड्दा किसानले चालु आर्थिक वर्षका लागि उखु बिक्रीमा न्यूनतम रु छ सय १० पाउनेछन् ।
ताजा अपडेट
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
-
ट्रम्पद्वारा रुसमाथि नयाँ प्रतिबन्धको सङ्केत
-
सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कपको उपाधि
-
विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेतीमा रमाउँदै हौँचुरका सरोज
प्रतिक्रिया