NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

फिरौती बुझाउन फोन कुर्दाकुर्दै भेटियो दुई भाइको शव

भारतको बिहार मामाघर गएका जनकपुरधामका दुई युवाको अपहरणपश्चात् हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका– ८ का रामबाबु साहका २२ वर्षीय छोरा रोहितकुमार र जनकपुरधाम– १३ का गणेश साहका २० वर्षीय छोरा विष्णुकुमारको बिहारको सीतामाढी जिल्ला परिहार गाउँमा अपहरणपछि हत्या भएको हो ।

परिवारका अनुसार दुवैजना २७ पुसमा जनकपुरस्थित घरबाट मोटरसाइकलमा निस्किएका थिए । सोही दिन उनीहरू अपहरणमा परेका हुन् । अपहरणमा परेको १२ दिनपछि उनीहरूको शव आइतबार नेपाल र भारतका प्रहरीको संयुक्त टोलीले सीतामाढी जिल्लाको पर्साग्राम थानाअन्तर्गत पर्सा गाउँको चौरीमा भेटाएको हो ।

बोरामा बाँधेर गाडिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी विश्वराज खड्काले बताए । दुवैको शव सडेको अवस्थामा भेटिएको धनुषा प्रहरीले जनाएको छ । शवको अवस्था हेर्दा उनीहरूलाई अपहरणको दुई–चार दिनपछि नै मारेर गाडेको हुन सक्ने प्रहरी आकलन छ । मृतकमध्ये रोहितको शव बढी सडेकाले उनको पहिला हत्या भएको हुन सक्ने प्रहरी अधिकारी बताउँछन् । दुवैको शव सीतामाढीस्थित सरकारी अस्पतालमा पोस्टमार्टमपश्चात् जनकपुरधाम ल्याउन लागिएको छ ।

घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ, तर अपहरण र हत्याको कारण खुल्न सकेको छैन । प्रहरीले भारतमा चार र नेपालमा दुईजनालाई पक्राउ गरेको हो । बिहारको आपराधिक समूहले उनीहरूलाई योजनाबद्ध रूपमा अपहरण गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

मृतक रोहितले जनकपुरधामस्थित मिट क्याम्पसमा कक्षा १२ को परीक्षा दिएका थिए भने विष्णु जनकपुरको एक क्याम्पसमा कक्षा १२ मा अध्ययनरत थिए । विष्णु विवाहित हुन्, उनकी एक छोरी छिन् । दुवैजना परिवारका एक्ला छोरा थिए ।
अपहरणपछि हत्या गरिएका युवा सामान्य आर्थिक अवस्था भएका परिवारका हुन् । प्रहरीले विष्णु चढेर गएको मोटरसाइकलमा भारतीय नम्बरको प्लेट लगाएको अवस्थामा बरामद गरेको छ ।

रोहित र विष्णु नाताले दाजुभाइ पर्छन् । रोहितले विष्णुलाई परिहारमा आफ्नो मामाको घरमा छठियारको भोज रहेको र त्यहाँ सँगै जाने प्रस्ताव गरेका थिए । त्यसपछि उनीहरू २७ पुसमा परिहार जान मोटरसाइकलमा निस्के । तर, परिहारस्थित रोहितको मामाघर नपुग्दै दुवै अपहरणमा परे । अपहरणमा परेको दुई दिनपछि विष्णुका बुबा गणेशको मोबाइलमा भारतीय फोन नम्बरबाट एक अपरिचित व्यक्तिको कल आयो । उनले छोरा अपहरणमा परेको भन्दै छुटाउन १० लाख रुपैयाँ फिरौती मागे, नयाँ पत्रिका दैनिकमा खबर छ ।