NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

प्रचण्डसँगको त्यो फोन र भेटवार्ता जसबाट उत्साहित छन् झलनाथ

काठमाडौं । राष्ट्रपतिको विषयलाई लिएर सत्ता साझेदार दल एमाले र माओवादी केन्द्रबीच सम्बन्ध चिसिएको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग झण्डै तीन घण्टा गोप्य भेटवार्ता गरेका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा राष्ट्रपति निर्वाचन, पछिल्लो राजनीतिक घटनाक्रम, वामपन्थीबीच एकता लगायत विषयमा छलफल भएको उच्च स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्रीको सचिवालयबाट फोन आएपछि प्रचण्डलाई भेट्न खनाल बालुवाटार गएका हुन् ।

भेटका क्रममा विशेषगरी राष्ट्रपतिमा कसरी साझा उम्मेदवार बनाउन सकिन्छ भन्नेबारे दुई शीर्ष नेताबीच लामो छलफल भएको छ । स्रोतका अनुसार एमालेबाट राष्ट्रपति भए संविधान र व्यवस्थामाथि नै खतरा हुनसक्नेतर्फ प्रधानमन्त्री निकै चिन्तित रहेको पाइएको छ ।

खनाल निकट एक नेताले दुई शीर्ष नेताबीच भेटवार्ता भएको स्वीकार गर्दै विकल्पमा खनाललाई तयारी अवस्थामा बस्न प्रधानमन्त्रीले प्रस्ताव गरेको दाबी गरेका छन् ।

‘ओलीको भूमिकालाई लिएर प्रधानमन्त्री निकै चिन्तित रहेका छन् । राजनीतिक संयन्त्रको नाममा ओलीले प्रधानमन्त्रीको कार्यकारी अधिकारमाथि हस्तक्षेप गरिरहेको, आफ्ना ‘एस म्यान’लाई राष्ट्रपतिको उम्मेदवार बनाउन दबाब दिइरहेको महशुस गरेको पाइयो’, खनालको भनाइ उदृत गर्दै ती नेताले भने, ‘प्रधानमन्त्रीज्यूको भनाइ सुन्दा राष्ट्रपतिको निर्वाचनसम्म वर्तमान गठबन्धन नरहने देखिएको छ । त्यतिबेलासम्म साझा उम्मेदवारको विकल्पमा खनाललाई तयारी अवस्थामा रहन प्रधानमन्त्रीले प्रस्ताव गर्नुभएको छ ।’

ती नेताकाअनुसार प्रधानमन्त्रीको मनस्थिति बुझ्दा एमाले र कांग्रेस दुवै दलबाट राष्ट्रपति बनाउन चाहिरहेका छैनन् । एमालेबाट सभामुख निर्वाचित भइसकेकाले राष्ट्रपतिसमेत दिँदा संविधान र व्यवस्थामाथि नै संकट आउन सक्नेतर्फ सशंकित देखिएका छन् । एमालेलाई चिढाएर कांग्रेसलाई राष्ट्रपति दिने पक्षमा पनि प्रधानमन्त्री नभएको र विकल्पमा वामपन्थी दलबाट नै राष्ट्रपति बनाउने उनको चाहना रहेको ती नेताले बताए ।

‘ओलीका अघिल्लो पटकको गतिविधि हेरेर योपटक पुराना गल्ती दोहोर्याउने पक्षमा प्रधानमन्त्रीज्यू देखिँदैनन् । वर्तमान गठबन्धन कायमै राखेर राष्ट्रपतिमा साझा उम्मेदवार बनाउने उहाँले चाहना व्यक्त गर्नुभएको छ । राष्ट्रपतिको साझा उम्मेदवारमा जेएन कमरेडको विकल्प छैन । अहिलेको सत्ता गठबन्धन भत्किए सबैभन्दा घाटा ओलीलाई हुने हुँदा अन्तिममा खनालाई राष्ट्रपति मान्न एमालेपनि मान्न बाध्य हुनेछ’, ती नेताले भने ।

यसैगरी प्रधानमन्त्रीले एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन खनालाई आग्रह गरेका छन् । सरकारमा सहभागी भए उचित मन्त्रालय दिन आफू तयार रहेको प्रचण्डले बताएका छन् ।

प्रधानमन्त्रीको प्रस्तावप्रति सकारात्मक हुँदै नेकपा एसका सम्मानित नेतासमेत रहेका खनालले माओवादीबाट ठोस निर्णय आए राष्ट्रपतिको उम्मेदवार बन्न आफू तयार रहेको जवाफ फर्काएका छन् । त्यस्तो अवस्था आएमा पार्टीभित्र छलफल गरेर निर्णय लिने खनालले बताएका थिए ।

संविधान र लोकतन्त्रमाथि ओलीबाट धोका हुन सक्नेतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै पुरानै गठबन्धन ब्यूँताउँन खनालले सुझाव दिएका छन् ।

मंसिर ४ मा भएको निर्वाचनपछि वाम–लोकतान्त्रिक गठबन्धनबाट खानाल राष्ट्रपति बन्ने चाहना राखेका थिए । पहिलो चरणमा प्रधानमन्त्री को बन्ने भन्ने विषयमा देउवा र प्रचण्डबीच सहमति नभएपछि तत्कालीन गठबन्धन भत्काएर ओलीसँग मिलेका थिए ।

१० पुसमा एमालेको प्रस्तावमा प्रधानमन्त्री भएका प्रचण्ड पछिल्लो समय राष्ट्रपति एमालेलाई दिन आनाकानी गरिरहेका छन् । कांग्रेसबाट राष्ट्रपति बनाउँदा वर्तमान गठबन्धन धरापमा पर्नेहुँदा तत्कालै त्यस्तो जोखिम मोल्न प्रचण्ड तयार छैनन् ।

एमाले र कांग्रेसबाहेकबाट राष्ट्रपति बनाउने चाहना प्रधानमन्त्रीको रहेको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिएका कांग्रेसले राष्ट्रपतिमा माओवादीको साथ आफूलाई रहने विश्वास लिएको छ । यसरी दोहोरो दबाबमा रहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको उम्मेदवारको विषयमा कुनै निर्णय लिन सकेका छैनन् ।

ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक छल्दै आएको उनले शुक्रबारबसेको बैठकमा साझा उम्मेदवार बनाउनेबारे प्रस्ताव गरेका थिए । एमाले, माओवादी, रास्वपा र राप्रपा मात्र सहभागी रहेको उक्त बैठकमा प्रधानमन्त्रीको प्रस्तावप्रति ओलीले आपत्ति जनाएका थिए।

ओलीलाई रास्वपाका सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन समर्थन गरेका थिए । सोही विषयमा निर्णय लिन आइतबार पनि राजीतिक संयन्त्रको बैठक जारी रहेको छ ।

२५ फागुनमा राष्ट्रपतिको निर्वाचन गराउने तयारीमा निर्वाचन आयोग जुटेको छ । तर विवादका कारण अहिलेसम्म सत्ता गठबन्धनले साझा उम्मेदवार चयन गर्न सकेका छैनन् ।