नेपालको संवैधानिक विकासक्रम र वर्तमान संविधानका विशेषताहरू

काठमाडौं । जनतामा विश्वास देखिन्छ– लोकसेवा आयोग निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक कर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ । इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले पूर्वप्रशासक, प्रशासक र विषयविज्ञबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा उपसचिव डिजन भट्टराई(पिएचडी) ले नेपालको संवैधानिक विकासक्रम र वर्तमान संविधानका विशेषताबारे प्रश्नको समाधान सुझाउनुभएको छ ।
नेपालको संबैधानिक बिकासक्रमको छोटो टिप्पणी गर्दै वर्तमान संविधानका विशेषताहरू चर्चा गर्नुहोस । ५+५ =१०
१. विषय प्रवेश
राज्य व्यवस्था सञ्चालन गर्न राज्यको मुल कानुनको रुपमा रहने दस्तावेजलाई संविधान भनिन्छ । यो राज्य सञ्चालनको मार्ग निर्देशक दस्तावेज मात्र नभएर तत्कालीन सामाजिक सांस्कृतिक, आर्थिक राजनैतिक कानुनी प्रणालीको दस्तावेज पनि हो । नेपालको बैधानिक कानुन, २००४ बाट २०७२ सालमा घोषणा भएको संविधानसम्म आइपुग्दा नेपालमा धेरै संविधानहरु निर्माण भए । वर्तमान २०७२ मा घोषणा भएको संविधान हालसम्मको सबैभन्दा जनतालाई अधिकार सम्पन्न गराई विकास र समृद्धिको मार्गतर्फ उन्मुख संविधान देखिन्छ ।
२. नेपालको संवैधानिक विकासक्रम
नेपालको संवैधानिक विकासक्रमलाई देहाय अनुसार प्रस्तुत गर्न सकिन्छ :
- नेपालको बैधानिक कानुन,२००४ :
राणा शासनमा नै निर्माण गरिएको पहिलो संविधान हो । यो लागु भएन । नेपालमा संवैधानिक आवश्यकतालाई महसुस गर्ने योगदानका रुपमा यस संविधानलाई लिन सकिन्छ ।
- नेपालको अन्तरिम शासन विधान, २००७ :
२००७ सालको जनआन्दोलनको परिणामका रुपमा यो संविधान निर्माण भएको थियो । नेपालको संवैधानिक इतिहासमा कार्यान्वयनमा आएको पहिलो संविधान हो । यसले नेपालको संवैधानिक इतिहासमा जग हाल्ने काम गर्यो ।
- नेपालको अधिराज्यको संविधान, २०१५ :
यो संविधान नेपालको संवैधानिक इतिहासमा संविधानवाद र लोकतान्त्रिक मूल्य मान्यतामा निर्माण गरिएको पहिलो संविधान हो । यसले जनताको अधिकारलाई स्थापित गर्दै कानुनी राज्य निर्माणमा योगदान पुर्याएको छ ।
- नेपालको संविधान, २०१९ :
तत्कालीन राजा महेन्द्रले संबैधानिक ‘कु’ र संविधानवाद, लोकतान्त्रिक मुल्य मान्यताको अन्त्य गरी निर्दलीय, निरंकुश शासन व्यवस्थाको स्थापनाका लागि निर्माण गरिएको संविधान हो । नेपालको संवैधानिक इतिहासमा यसलाई कालो संविधानका रुपमा लिइन्छ ।
- नेपाल अधिराज्यको संविधान २०४७ :
२०४६ सालको जनआन्दोलन पश्चात पञ्चायती व्यवस्थाको अन्त्यको परिणामस्वरुप यो संविधान निर्माण भयो । संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको निर्माण गर्नु यो संविधानको विशेषता हो भने कानुनी शासन कायम गर्न यो संविधान कोशेढुगांको रुपमा रहेको छ ।
- नेपालको अन्तरिम संविधान २०६३ :
सशस्त्र द्धन्द्ध र २०६२/२०६३ को जनआन्दोलको परिणामस्वरुप निर्माण भएको यो संविधानले जनताका थप अधिकारलाई स्थापित गर्दै समावेशी लोकतन्त्रको आधार खडा गर्यो । यही संविधानमार्फत नेपालमा गणतन्त्र स्थापना भएको हो ।
- नेपालको संविधान २०७२ :
वर्तमान संविधान संविधान सभाबाट निर्माण गरिएको संविधान हो । संघीयता, समावेशी लोकतन्त्र र संविधानवादका मूल्यमान्यताबाट निर्माण भएको यो संविधान जनताका अधिकारलाई पूर्णता प्रदान गर्ने नेपालको सबैभन्दा उच्चस्तरको संविधान हो ।
३. नेपालको वर्तमान संविधानका विशेषताहरू
नेपालको वर्तमान संविधानका विशेषताहरुलाई देहाय अनुसार प्रस्तुत गर्न सकिन्छ :
- संविधान सभाबाट निर्माण भएको संविधान
- सशस्त्र द्धन्द्ध र जनआन्दोलनको परिणामस्वरुप केन्द्रीकृत एकात्मक शोषणमूलक राज्य व्यवस्थाको अन्त्य गर्ने उद्घोषसहित निर्माण भएको संविधान
- लोकतान्त्रिक मूल्यमान्यता र संविधानवादका आधारभूत मान्यतामा रहेर निर्माण भएको संविधान
- समाजवाद उन्मुख राज्य व्यवस्था निर्माण गर्ने उद्देश्य राखेको संविधान
- संघीयता, गणतन्त्र, समावेशी लोकतन्त्र, धर्मनिरपेक्षतालाई संस्थागत गरेको संविधान
- नागरिक तथा राजनीतिक अधिकार, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार तथा सामुहिक अधिकारलाई मौलिक हकका रुपमा राखेको संविधान
- तीन तहको संघीयतालाई अबलम्बन गर्ने कुरा उल्लेख गरेको संविधान
- तीनै तहको सरकारहरुको एकल अधिकार सुची र साझा अधिकार सुचीलाई संविधानमा नै स्पष्ट गरिएको
- सुधारिएको संसदीय प्रणालीलाई शासकीय प्रणालीका रुपमा अबलम्बन गरिएको
४. निष्कर्ष
संविधान राजनीतिक र कानुनी दस्तावेज मात्रै होइन, यो तत्कालीन राज्य प्रणाली, समाज र संस्कृतिको प्रतिबिम्बन गराउने ऐना पनि हो । २००४ सालमा निर्माण भएको नेपाल सरकारको बैधानिक कानुनबाट सुरु भएको नेपालको संवैधानिक इतिहासमा त्यसपश्चात अरु ६ वटा संविधान निर्माण भइ कार्यान्वयनमा आएका छन् । वर्तमान संविधान संविधानवादको मूल्य मान्यतामा आधारित भइ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्ने विशेषतासहित निर्माण भएको संविधान हो ।
(हामीले सुरु गरेको यो श्रृंखला तपाईंलाई कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला । अनि तपाईंसँग पनि लोक सेवा परीक्षासँग सम्बन्धित कुनै जिज्ञासा, अन्याेलता छन् कि ? यदि छन् भने हाम्रो इमेल ठेगाना [email protected] मा त्यसबारे लेखी पठाउनुहोला । प्राप्त उपयुक्त जिज्ञासा अनुभवी प्रशासक र पूर्वप्रशासकसमक्ष राखेर उहाँहरूले पहिल्याएकाे समाधान यहाँहरूसमक्ष पस्किने छौं ।)
लोक सेवा परीक्षा तयारीसँग सम्बन्धित यसअघि प्रकाशिन सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया