जहाँ नागरिकले नदी तरेको पैसा तिर्नुपर्छ
भजनी । कैलालीको भजनी नगरपालिकाका स्थानीयले १२ वर्षदेखि पक्की पुलको सपना देख्दै आएका छन् । पक्की पुल निर्माण भएपछि नदी तर्दा तिर्नुपर्ने पैसाबाट छुटकारा पाइएला भन्ने स्थानीयको सपना छ ।
स्थानीयवासीले कान्द्रालगायतका नदी तर्दा पैसा तिर्नुपर्छ । ‘दैनिक कामका लागि नगरपालिका आउँदा ३० तिरेर नदी तर्नुपर्छ । महिनामा नौ सय नदी तरेको मात्रै तिर्नुपरेको छ’, स्थानीय रुपक साउदले भने । उनले पक्की पुल प्रयोगमा नआउँदासम्म नागरिकलाई आवतजावतमा समस्या हुने बताउदै नगरपालिकाले पैसा उठाएर झन सास्ती दिने गरेको बताए । पालिकालाई भन्दा पुल निर्माणको ठेक्का लिने कम्पनीलाई बढी फाइदा भएको साउदको भनाइ छ ।
ठूला सवारीसाधन पुलबाट नभई नदीबाट वारपार गराउनुपर्छ । यसरी नदीबाट सवार गर्दा सवारीसाधनबाट पैसा सङ्कलन गर्ने गरेको भोजराज काफ्ले बताउँछन् । ‘कान्द्रामा पुल बन्न लागेको एक दशकभन्दा बढी भयो । समयमै पुल निर्माण नहुनुको कारण बिचौलिया हुन् । जसले नदी ठेक्काका नाममा वार्षिक लाखौँ उठाउँछन्’, उनी भन्छन, ‘नभए पुल निर्माणका लागि स्थानीय सरोकारवालाले चासो नदिनुको कारण के हो ? ’
टीकापुरबाट हुलाकी राजमार्ग हुँदै धनगढी पुग्न करिब ७५ किलोमिटर छ । महेन्द्र राजमार्गबाट जाँदा अलि लामो पर्छ । कान्द्राको पुल नभएकै कारण हुलाकी राजमार्ग प्रयोग गर्न नसकिएको टीकापुरका बिन्तीराम चौधरी बताउँछन् । उनले जागिरको सिलसिलामा कैलारी गाउँपालिका बस्नुपरेको बताउँदै हप्तामा एक दिन घर फर्किँदा नदी तरेको पैसा तिर्नुपर्ने बाध्यता भएको बताए । ‘नगरपालिकालाई पैसा दिएर नदी ठेक्कामा लिएका हौँ भनेर ठेकेदारको प्रतिक्रिया आउँछ । त्यति भएपछि पैसा त दिनैप-यो’, उनले भने । कान्द्राको पुल बने आवतजावतमा सहज हुने उनको भनाइ थियो ।
भजनी नगरपालिकाले कान्द्रा नदीलगायत मातहतका नदीलाई ठेक्का दिएको छ । ठेक्का दिएका नदीमा माछा मार्नेदेखि डुङ्गा सञ्चालन हुँदै आएको छ । एक आर्थिक वर्षका लागि हुने ठेक्काले आन्तरिक आयस्रोतको काम गर्दै आएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख केवल चौधरीले कान्द्रामा नागरिक वारपार गरेको रकम तिर्नुपर्ने स्थिति यसै वर्षबाट अन्त्य हुने बताए । उनले हुलाकी राजमार्गअन्तर्गत निर्माण भएको कान्द्रा पक्की पुलको काम अन्तिम चरणमा रहेको बताउँदै केही महिनामै पुलबाट आवतजावत सुरु हुने बताए ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया