विदेशीमाथि लगाइएका भिसा प्रतिबन्ध हट्यो
बेइजिङ । चीनले कोभिड–१९ महामारी फैलिएपछि विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाएको छ । भोलि बुधबारदेखि विदेशीहरूलाई भिसा जारी गरिने विदेश मन्त्रालयले बताएको छ ।
महामारी नियन्त्रण गर्न सरकारले केही महिना अघिसम्म कठोर ‘शून्य कोभिड रणनीति’ अवलम्बन गरेको थियो । सरकारको पछिल्लो निर्णयले बाहिरी संसारका निम्ति चीन पुनः खुलेको छ ।
चिनियाँ विदेश मन्त्रालयको कन्सुलर अफेयर्स ब्यूरोसँग सम्बद्ध सामाजिक सञ्जालमार्फत जारी गरिएको सूचनाअनुसार नयाँ भिसा आवेदनको समीक्षा र स्वीकृतिका साथै मार्च २८, २०२० अघि जारी गरिएका तर म्याद नगुज्रिएका भिसावाहकले पुनः चीनमा प्रवेश गर्न पाउने छन् ।
यस्तै सूचना संयुक्त राज्य अमेरिका र फ्रान्समा रहेका चिनियाँ दूतावाससहित विश्वका धेरै देशमा रहेका चिनियाँ कूटनीतिक नियोग जारी गरेका छन् । सरकारले जारी गरेको भिसासम्बन्धी अद्यावधिक नीतिले पानी जहाजबाट साङ्घाई आउनेहरूका साथै हङकङ, मकाउ र आसियान क्षेत्रीय समूह भित्रका देशका निश्चित पर्यटक समूहहरूका लागि बिनाभिसा यात्राको अनुमति दिएको छ ।
राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठनका अनुसार महामारी प्रारम्भ हुनुअघि अर्थात् सन् २०१९ मा छ करोड ५७ लाख अन्तरराष्ट्रिय पर्यटधकले चीन भ्रमण गरेका थिए । विश्वका अधिकांश मुलुकले आफ्नो अर्थतन्त्रलाई गतिशील तुल्याउने उद्देश्यले महामारीका कारण बन्द गरिएको यात्रा अनुमति पुनः खुला गरेपछि चीनले पनि गत वर्षको उत्तराद्र्धमा यात्रा अनुमति दिएको हो ।
बन्दाबन्दीको अवस्थामा महिनौँ घरभित्रै छटपटिका चिनियाँले शून्य कोभिड रणनीतिको विरोधमा देशका विभिन्न भागमा प्रदर्शन गरेका थिए । महामारी नियन्त्रणका नाममा आफ्नो राजनीतिक एवम् वैयक्तिक स्वतन्त्रता हनन भएको प्रदर्शनकारीको तर्क थियो ।
ताजा अपडेट
-
पढ्ने रहर भएकालाई कसरी सहयोग गर्छ क्यानोपि नेपाल ?
-
डा. गोविन्द केसीले ताेडे अनसन
-
फिनल्यान्डले नेपाललाई १ अर्ब ८७ करोड अनुदान दिने
-
नेपाल चेम्बर र अर्मेनियाको चेम्बरबीच व्यापार एवं सूचना प्रविधिमा सहकार्य हुने
-
राष्ट्रिय बीमा कम्पनीको उपशाखा डोटीमा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न
प्रतिक्रिया