पार्टीका उम्मेदवारलाई सघाउने चितवनका विद्रोही कांग्रेस नेताको घोषणा

काठमाडौं । निर्वाचनमा पार्टीबाट विद्रोह गरेका नेपाली कांग्रेसका नेताहरुले उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई सघाउन आह्वान गरेका छन् । उनीहरुले एक अपिल प्रकाशित गरी नेपाली कांग्रेसको रुख चिह्नवाहक उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका हुन् ।
विगतको निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई सघाएर पार्टीबाट विद्रोह गरेका पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा, गठबन्धनका विरुद्ध एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका पार्टीका केन्द्रीय सदस्य दिनेश कोइराला, पूर्वसांसद भीमबहादुर श्रेष्ठ र महासमिति सदस्य मीना खरेलले संयुक्त अपिल जारी गरेका हुन् ।
“नेपालको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक परिस्थिति निरन्तर जटिल बन्दै गइरहेको र मुलुक समस्यामा हुँदा त्यसको निकास नेपाली कांग्रेसले मात्र दिनसक्छ भन्ने तथ्य विगतदेखि वर्तमानसम्मको इतिहासले पुष्टि गरिसकेको छ”, जारी अपिलमा भनिएको छ ।
कांग्रेस कमजोर भयो भने देश समस्यामा फस्छ भन्ने फेरि पनि समयले प्रमाणित गरिसकेको भन्दै अपिलमा भनिएको छ, “मुलुकका गम्भीर समस्याको समाधानका लागि कांग्रेसमा समग्र एकता हुन आवश्यक छ ।”
चितवन–२ मा प्रतिनिधिसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा कांग्रेसबाट पूर्वसभापति जीतनारायण श्रेष्ठ उम्मेदवार छन् ।
पार्टीको केन्द्रीय समितिले तत्कालीन सभापति सुशील कोइरालासँग चितवनमा बागी उम्मेदवार बनेपछि कारबाहीमा परेका पूर्वजिल्ला सभापति विकास कोइरालाको कारबाहीसमेत फुकुवा गरेको छ । यससँगै कोइराला पनि पार्टीका उम्मेदवार जिताउन लागि परेका छन् ।
जिल्ला सभापति राजेश्वर खनालले यसअघिका निर्वाचनमा विद्रोह गरेर विभिन्न ठाउँमा उभिएकाहरु एक ठाउँमा उभिएको बताए ।
प्रतिक्रिया