भाजपा विदेश विभाग प्रमुख धनगढीमा, आज काठमाडौं आउने

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका छन् । सुदूरपश्चिम प्रदेशमा शनिबारदेखि सुरु अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा सहभागी हुन चौथाइवाले आइतबार धनगढी आइपुगेका हुन् ।
मानसखण्डमा सम्बोधन गरेर उनी आज नै काठमाडौं आउने कार्यक्रम छ । काठमाडौंमा रहँदा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री एनपी साउदसँगै विभिन्न राजनीतिक दलका नेतासँग भेटवार्ता गर्ने बताइएको छ ।
प्रधानमन्त्री दाहालसँग हुने उनको भेटमा निकट भविष्यमा हुने भारत भ्रमणबारे छलफल हुने ठानिएको छ । गत पुस १० मा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले अहिलेसम्म विदेश भ्रमण गरेका छैनन् । उनी भारत भ्रमणमा जाने करिब निश्चित भए पनि मिति तय हुन बाँकी छ ।
आइतबार पद तथा गोपनीयताको शपथ लिँदै परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको भारत भ्रमणका लागि तयारी सुरु गरिहाल्ने बताएका थिए ।
प्रतिक्रिया