मोरङमा भेटियो ‘अफ्रिकन स्वाइन फिभर’ को लक्षण

बेलबारी । मोरङको बेलबारीस्थित एक बंगुर फर्ममा ‘अफ्रिकन स्वाइन फिभर’ को लक्षण देखापरेको छ । सो फर्मका बंगुर मर्न थालेपछि नमूना परीक्षणका लागि प्रयोगशाला पठाइएको छ ।
बेलबारी–४ मा रहेको ठूली एकीकृत कृषि फर्ममा रहेको बंगुरमा सो रोगको लक्षण देखापरेको हो । चारो नखाने, पानी हल्का खाने र ज्वरो आउने लक्षण देखिने फर्मका सञ्चालक धीरेन लिम्बूले बताए ।
‘केही दिनमै खोरै रित्तियो, लाखौँको लगानी खेर गयो’, उनले भने । वैदेशिक रोजगारीको सिलसिलामा नौ वर्ष कोरियामा बिताएका उनले विदेशमा सिकेको सीप स्वदेशमै गर्नुपर्छ भनेर पुँजीसँगै सीप भित्र्याएका थिए । २५ लाखभन्दा धेरैको नोक्सानी भएको उनले जानकारी दिए । छेउमै रहेका बाख्रा फर्म र माछा पोखरीमा भने उक्त रोगले असर नदेखाएको जनाइएको छ ।
उनले २२ कट्ठा जमिनमा तीन वर्षअघिदेखि फर्म सञ्चालन गर्दै आएका थिए । बेलबारी नगरपालिकाका पशु विकास अधिकृत बाबुराम बस्नेतले भने, ‘अफ्रिकन स्वाइन फिभरको लक्षण देखिएपछि प्रयोगशाला परीक्षण लागी विराटनगर हुँदै काठमाडौं पठाइएको छ ।’ रोगको लक्षण हेर्दा अफ्रिकन स्वाइन फिभर नै हुनसक्छ तर प्रयोगशालाको विस्तृत प्रतिवेदन नआउञ्जेल यकिन भन्न नसकिने उनले बताए । उनका अनुसार यो रोगको लक्षण दुई वर्षअघिमात्र नेपालमा भित्रिएको हो ।
ताजा अपडेट
-
शिक्षक आन्दोलन : पारस्परिक संवादबाट ‘प्याकेज’ मै निकास खोजिँदै
-
‘राजस्व बढ्ने आधार छैन, रुग्ण आयोजनाका बजेट व्यापक कटौती गर्नुपर्छ’
-
जलविद्युत् आयोजनाले पानी नछाडि दिँदा किसानलाई चैते धान रोप्न समस्या
-
अर्थतन्त्रको संकटः संरचनागत अवरोध, कार्यान्वयनको कमजोर इच्छाशक्ति र अविश्वसनीय संस्थागत वातावरण
-
हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन, तोलकाे कति छ आज ?
प्रतिक्रिया