शरणार्थी प्रकरणले प्रहरी ‘गुटबन्दी’ छताछुल्ल

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानसँगै नेपाल प्रहरीभित्रको गुटबन्दी पनि छताछुल्ल भएको छ । यो प्रकरणमा प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त कुँवर नै मुछिने सूचना सार्वजनिक भएका छन् । अर्कातिर हिरासतमा रहेका आरोपितलाई बयान फेर्न प्रभावित पानेृ गरी सन्देश र पत्र आदानप्रदान गर्न दिएको खुलेपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयमाथि प्रश्न उठेको छ ।
अनुसन्धानमा तानिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार भएदेखि नै उनलाई उम्काएको आरोप आइजिपी कुँवरमाथि लागेको थियो । एमाले सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको दिन गत वैशाख २० मा अर्घाखाँचीको कार्यक्रममा सहभागी थिए । प्रहरी सुरक्षा घेरामा भएको कार्यक्रममा सभामुख देवराज घिमिरेसमेत उपस्थित थिए । त्यही बेला आइजिपी कुँवर र रायमाझीबीच संवाद भएको थियो । रायमाझीले आफैं आउँछु भनेकै भरमा उदार बनेको प्रहरीले उनीमाथि निगरानीसमेत गरेको थिएन । लगत्तै उनी सम्पर्कविहीन बनेका थिए ।
रायमाझी फरार भएको विषयमा कुँवरको भूमिका रहेको आशंका गरिउको थियो । तर उनी निकट एक अधिकारीले भने सांसदसमेत रहेका व्यक्तिले म आउँछु, भाग्दिनँ भनेर आश्वस्त पारेपछि भाग्ने कल्पना नगर्दा समस्या आएको बताए । प्रहरी प्रधान कार्यालयको टोलीले रायमाझीलाई ११ दिनपछि काठमाडौंको बूढानीलकण्ठबाट नियन्त्रणमा लियो । तर कुँवरमाथिको प्रश्न यथावत् छ ।
कुँवर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहेका बेला शरणार्थीको मुद्दाको अनुसन्धान नगरेको आरोप पनि छ । उनी कार्यालय प्रमुख रहेका बेला गत वर्ष शरणार्थी प्रकरणका २ आरोपित पक्राउ परेका थिए । तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण र सचिव टेकनारायण पाण्डेको दबाबमा उनीहरूलाई छाडेको आरोप कुँवरमाथि छ ।
आरोपित जोगाउन तत्कालीन गृह सचिव पाण्डे र गिरोहका नाइकेबीच गत वर्ष भएको संवादको विवरण पनि बाहिरिएको छ । संवादमा पाण्डेले कुँवरसँग कुरा मिलाउने उल्लेख गरेका छन् । यद्यपि, सार्वजनिक संवादमा कुँवर आफैं सहभागी देखिएका छैनन् । यसबारे आफूलाई कुनै जानकारी नभएको उनको दाबी छ । शरणार्थी प्रकरणको अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसक्दा पनि संगठन र नेतृत्वप्रति लाञ्छना लगाउन संगठनकै एउटा समूह लागेको आइजिपी कुँवरको भनाइ छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया