NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

शरणार्थीका नाममा ठगी मुद्दा– जाहेरीकर्ता पक्षको बहस सकियो, अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गर्न माग

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाविरुद्ध सरकारी वकिल पक्षको बहस मंगलबार सकिएको छ । प्रकरणमा पक्राउ सबै अभियुक्त पुर्पक्षका लागि कारागार चलान गरिनुपर्ने बहसको निचोड छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले अभियुक्तविरुद्ध जाहेरीकर्ता पक्षको बहस सकिएको बताए । ‘जाहेरीकर्ता पक्षको बहस सकिएको छ । बहसमा आठ सरकारी वकिल सहभागी थिए । जाहेरीकर्ताको पक्षबाट बहस गर्ने निजी वकिल पनि सहभागी थिए । अभियुक्तलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने विषयमा बहसमा सहभागी सबै अधिवक्ता एकमत छन्,’ उनले भने ।

बहसमा सरकारी वकिल पक्षबाट आठ र निजी ६ गरी १४ अधिवक्ता सहभागी थिए । कसुर प्रमाणित हुने पर्याप्त प्रमाण भएको र धरौटीमा रिहा गरिँदा प्रमाण नष्ट गर्न सक्ने जोखिम औँल्याउँदै सबै अभियुक्तलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न बहसमा सहभागी अधिवक्ताको माग थियो ।

सरकारी वकिलको पक्षबाट बहसमा जिल्ला न्यायाधिवक्ता न्यौपानेसहित महेश खत्री, जनक घिमिरे, दिनेश भट्टराई, शुरबहादुर परियार, निर्मला मरासिनी र प्रकाश घिमिरे सहभागी थिए । त्यस्तै, बहसमा निजीतर्फबाट वरिष्ठ अधिवक्ता धु्रवलाल श्रेष्ठ, स्वागत नेपाल, राधिका चौलागाईं, हरिप्रसाद कँडेल, सुशील शर्मा सापकोटा र दीपकराज रेग्मी सहभागी थिए ।

बहसमा उत्रिएका अधिवक्ता स्वागत नेपालले नक्कली भुटानी शरणार्थी बनाउने क्रममा संगठित तवरले रकम लेनदेन भएको जिकिर गर्दै नक्कली भुटानी शरणार्थी प्रकरण ‘ह्वाइट कलर क्राइम’ भएको दाबी गरे । बहसका क्रममा नेपालले तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र मुख्य बिचौलिया रामशरण केसीबीच धन्दाका क्रममा ४९ पटक कुराकानी भएको दलिल पेस गरे ।

इजलासमा सहभागी जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको ध्यानाकर्षण गराउँदै उनले भने, ‘नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्दा संगठित तवरले भएका छन् । दुई पक्षबीच रकम लेनदेन भएको पुष्टि भएको देखिन्छ । अडियो र भिडियो प्रमाणले समेत घटनालाई पुष्टि गर्छ । त्यसो हुँदा यो ‘ह्वाइट कलर क्राइम’ हो । घटनामा जोडिएका सबै अभियुक्तलाई थुनामै राखी मुद्दाको पुर्पक्ष हुनुपर्छ ।’

भुटानी शरणार्थीसम्बन्धी मृत प्रस्ताव पुनः ब्युँझाएर संगठित तवरले अपराध गर्ने कार्यमा तत्कालीन गृहमन्त्री खाणको प्रत्यक्ष भूमिका देखिने अधिवक्ता नेपालको जिकिर छ । बहसमा उत्रिएका अर्का वरिष्ठ अधिवक्ता धु्रवलाल श्रेष्ठले पनि सबै अभियुक्तलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष हुनुपर्ने जिकिर गरे । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष