विमला राईले उठाइन् प्रधानमन्त्रीको भारत भ्रमणमा खड्किएको २ वटा विषय

काठमाडौं । चारदिने भारत भ्रमणलाई लिएर प्रतिनिधिसभामा विपक्षी दलका सांसदबाट चर्को आलोचना खेपेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभामासमेत आलोचनाको सामना गर्नुपरेको छ ।
जेठ १७ देखि २० गतेसम्म भारत भ्रमणका क्रममा भएको सार्वजनिक महत्वको विषयबारे प्रधानमन्त्री प्रचण्डले बुधबार राष्ट्रिय सभामा जानकारी गराएका थिए ।
प्रतिनिधिसभामा जस्तै आफ्नो भ्रमण उपलब्धीपूर्ण भएको दाबी गरिरहँदा विपक्षी सांसदहरूले उनको भ्रमण असफल, राष्ट्रघाति र कुटनीतिक मर्यादाविपरित भएको आरोप लगए ।
त्यस्तै प्रधानमन्त्रीलाई प्रश्न सोध्ने त्रममा निवर्तमान परराष्ट्रमन्त्रीसमेत रहेकी एमालेका सांसद डा. विमला राई पौडेलले प्रधानमन्त्रीको भ्रमण कुटनीति मर्यादाविपरित भएको टिप्पणी गर्दै २ वटा विषय खड्किएको बताइन् ।
यस्तो छ प्रधानमन्त्रीमाथि राईको टिप्पणी :
पहिलो, औपचारिक र कुटनीतिक राहदानी लिएर भारत भ्रमणमा गएको प्रधानमन्त्रीको जम्बो टोलीमा आधिकारिक फोटोग्राफर थिए कि थिएनन् ?
दौरा–सुरुवाल र टोपी लगाएका व्यक्ति प्रधानमन्त्रीको अगाडि बसेर फोटो खिच्न मिल्छ कि मिल्दैन ? यो कुटनीतिक मर्यादा हामीले कहिले सिक्ने र कहिले सिकाउने ?
दोस्रो, भ्रमणमा सीमा विवादबाहेकका उपलब्धी भनेको परराष्ट्र सचिव र मन्त्रीको संयन्त्रले पनि गर्न सक्ने हो । जम्बो टोली लिएर प्रधानमन्त्री जानुपर्ने खालको उपलब्धी मैले यहाँ देखेको छैन ।
इपिजीको कुरा उठाउँदा माहोल बिग्रिन्छ भन्नुभयो प्रधानमन्त्रीज्यूले, कुरा उठाउँदा माहोल बिग्रिन्छ भने त्यो अचम्मको पोको के हो, हामीले त्यो प्रतिवेदन कहिले पढ्न पाउने ?
प्रतिक्रिया