NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

वाग्नर प्रमुख पैसाको लागि ‘रेलको लिकबाट बाहिरिएको’ रूसी दाबी

एजेन्सी । वाग्नरको संक्षिप्त विद्रोहपछि मस्कोको नयाँ आख्यानले आकार लिइरहेका बेला एक शीर्ष रूसी प्रचारकले आइतबार वाग्नरका मालिकले अर्बौं सार्वजनिक कोष प्राप्त गरेपछि ‘रेलको लिकबाट बाहिरिएको’ आरोप लगाएका छन् ।

गत हप्ता वाग्नर भाडाका सैनिक समूहका प्रमुख येभगेनी प्रिगोजिनले रूसका उच्च सैन्य अधिकारीहरूविरुद्ध अल्पकालीन विद्रोहमा आफ्नो सेनाको नेतृत्व गरेका थिए ।

रूसी प्रोपोगान्डा कार्यक्रमका मुख्य अनुहार मध्येका एक दिमित्री किसेलेभले आइतबार आफ्नो साप्ताहिक टेलिभिजन कार्यक्रममा भने, “प्रिगोजिन ठूलो पैसाका कारण रेलबाट बाहिरिएका छन् । उनले रक्षा मन्त्रालय, राज्य स्वयं र राष्ट्रपतिलाई व्यक्तिगत रुपमा चुनौती दिन सक्ने ठानेका थिए । नसकेपछि उनी बाहिरिएका छन् ।”

किसिलेभले भने, “सिरिया र अफ्रिकामा वाग्नरको अभियानले प्रिगोजिनलाई दण्डहीनताको भावना दिएको थियो र पछि पूर्वी युक्रेनमा उनको भूमिकालाई उनको सेनाको युद्धभूमि सफलताले बलियो बनायो ।

किसिलेभले वाग्नेरले राज्यकोषबाट ८५८ अर्ब रुबल ९९.७ अर्ब अमेरिकी डलर० भन्दा बढी रकम प्राप्त गरेको दावी गरे । यद्यपि यसलाई पुष्टि गर्ने बलियो तर्क भने उनले पेश गरेनन् ।

यसै साताको सुरुमा राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलो पटक रूसी अधिकारीहरूले अर्धसैनिक संगठनलाई ‘पूर्ण रूपमा’ आर्थिक सहयोग गरेको बताएका थिए ।

मे २०२२ देखि मे २०२३ को बीचमा वाग्नरले रूसी राज्यबाट ८६ अर्ब रूबलभन्दा बढी रकम प्राप्त गरेको पुटिनले बताएका छन् ।

रूसी कानुनले निजी भाडाका समूहलाई प्रतिबन्धित गरेको छ ।

वासिङ्टन र ब्रसेल्सको प्रतिबन्धका कारण प्रिगोजिनले वर्षौंदेखि छायाँमा काम गर्दै आएका थिए तर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमा सेना पठाएपछि उनी चर्चामा आएका थिए ।

उनले रूसी सेनाले पूर्वी युक्रेनको वाग्नरबाट प्राप्त विजय ‘चोर्न’ खोजेको आरोप लगाउँदै मस्कोको ‘कर्मचारीतन्त्र’को आलोचना गरेका थिए ।

प्रिगोजिनलाई जेलबाट लडाकु भर्ती गर्न अनुमति दिइएको थियो र मार्चमा, रूसी संसदले वाग्नर जस्ता ‘स्वयंसेवी समूहहरू’ को आलोचना गर्नेहरूका लागि लामो जेल सजाय लागू गर्ने कानून पारित गरको थियो ।

धेरै राजनीतिक पर्यवेक्षकहरूले प्रिगोजिनको विद्रोहको प्रयासलाई पुटिनको सत्तामा पकड कमजोर हुँदै गएको सङ्केतको रूपमा हेरेका छन् । तर मस्कोका अधिकारी र प्रचारकहरूले भने रूसीहरू पुटिनको पक्षमा उभिएको दाबी गरेका छन् ।

रूसको संसदको तल्लो सदनका सभामुख व्याचेस्लाभ भोलोडिनले आइतबार लेखेका छन्, “पुटिन ‘यो अत्यन्त कठिन परिस्थिति’बाट अझ सशक्त रुपमा बाहिर निस्केका छन् ।”
भोलोडिनले सामाजिक सञ्जाल टेलिग्राममा लेखेका छन्, “उनले रक्तपात रोक्नका लागि सबै प्रयास गरे ।”

उनले भने, “यदि सन् १९१७ र १९९१ मा पुटिनजस्ता व्यक्ति राज्यको बागडोर सम्हालेको भए त्यहाँ कुनै क्रान्ति हुने थिएन र सोभियत संघको पतन हुने थिएन ।”