प्रधानमन्त्री प्रचण्डको पत्नी सीता दाहालको निधन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पत्नी सीता दाहालको निधन भएको छ । उनको बुधबार बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
स्वास्थ्य स्थिति जटिल बनेपछि सीतालाई बुधबार बिहान ८ बजे नर्भिक अस्पताल पुर्याइएको थियो । तर केहीबेरमै चिकित्सकले उनलाई मृत घोषित गरे । अस्पताल प्रशासनले ‘कार्डियक अरेष्ट’का कारण उनको निधन भएको जनाएको छ ।
सीता दाहाल लामो समयदेखि प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पिएसपी) रोगबाट पीडित थिइन् । दुर्लभ मानिने यो रोगका कारण उनी हिँड्डुल गर्नसमेत असमर्थ रहँदै आएकी थिइन् ।
दिवंगत सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अहिले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा राखिने र २ बजे अन्तिम संस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
औपचारिक शिक्षा हासिल नगरेकी सीताले प्रचण्डलाई निकै नजिकबाट सघाएकी थिइन् । तत्कालीन नेकपा माओवादीले ०५२ सालबाट सुरु गरेको सशस्त्र संघर्षमा उनी श्रीमान्सँगै भूमिगत बनेकी थिइन् । प्रचण्डले आफ्नो राजनीतिक करिअरले उचाइ लिनुको पछाडि पत्नी सीताको हात रहेको विभिन्न सन्दर्भहरूमा स्मरण गर्दै आएका छन् ।
श्रीमान् राजनीतिमा हेलिएपछि अनेक कठिनाइ र भुक्तमान झेलेकी उनले शान्ति प्रक्रिया सुरुपछि एकपछि अर्को सन्तान वियोगको पीडा खेपेकी थिइन् । २०७० मा छोरी ज्ञानु दाहालको निधन भएको केही वर्षपछि उनले एक मात्र छोरा प्रकाशलाई गुमाइन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया