संख्याले सार्थकता दिए संसदीय दलको नेता परिवर्तनमा लाग्छु : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सांसदहरूको साथ पाए आफूले पार्टी संसदीय दलको नेता परिवर्तनका लागि प्रयास थाल्ने बताएका छन् ।
शनिबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सांसदहरूको उल्लेख्य साथ पाएको दिन संसदीय दलको नेता परिवर्तन निम्ति आफूले प्रयास गर्ने प्रष्ट पारे । यसअघि थापाले कांग्रेस सभापति देउवालाई संसदीय दलको नेतामा चुनौती दिएकोमा उनी फराकिलो मतान्तरमा पराजित भएका थिए ।
‘दलको नेता हुनुपर्छ भनेर यसअघि नै लडेको हुँ,’ उनले भने, ‘साथीहरू (सांसदहरू) संख्याले सार्थकता दिन्छ भन्ने महसुस भएका दिन पुनः प्रयास गर्नेछु ।’
बीचमै संसदीय दलको नेता परिवर्तन गर्न कांग्रेस विधानले नै बाटो खोलेको महामन्त्री थापाले दाबी गरे । गिरिजाप्रसाद कोइराला दलको नेता रहेकै बेला देउवा संख्या पु¥याएर संसदीय दलको नेता बनेको उनले स्मरण गराए ।
महामन्त्री थापाले आगामी साउन २ गतेको केन्द्रीय समिति बैठक नसर्ने र त्यसले महत्त्वपूर्ण राजनीतिक निर्णय गर्ने बताए । एक वर्षपछि यही असार २७ का लागि कांग्रेस केन्द्रीय समिति बैठक बोलाइएकोमा प्रधानमन्त्री प्रचण्डको पत्नी सीता दाहालको निधनका कारण आगामी साउन २ गतेका लागि सारिएको छ ।
थापाले उक्त केन्द्रीय समिति बैठकले निर्वाचनअघि कुनै पनि दलसँग गठबन्धन नगर्नेलगायत महत्त्वपूर्ण निर्णय लिने जानकारी दिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया