सेनामा भर्ना गरिदिन्छु भन्दै ठगी गर्ने आठ पक्राउ
दार्चुला । नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा दार्चुला प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डेयका अनुसार दार्चुलाको महाकाली नगरपालिका–३ बाजका २७ वर्षीय नरेन्द्रसिंह महर र सोही ठाउँका २१ वर्षीय ईश्वर महर, ४४ वर्षीय विशनसिंह नगाल, २७ वर्षीय रमेशसिंह महर, ३० वर्षीय देवसिंह महर र ३८ वर्षीय रुकुमसिंह महर, मालिकार्जुन गाउँपालिका–३ का ५१ वर्षीय श्यामसिंह धामी र कैलालीको गोदावरी नगरपालिका–३ कालीकाटोल बस्ने ३४ वर्षीय शङ्कर भूललाई पक्राउ गरिएको हो ।
जिल्लाको मालिकार्जुन गाउँपालिका–३ बस्ने श्यामसिंह धामीलगायतका सात जनाबाट रु १४ लाख ९५ हजार ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए।
प्रतिवादी नरेन्द्रसिंह महरले ‘म नेपाली सेनाको जागिरे वाला हुँ, म देवीदल गण अत्तरियामा कार्यरत छु, तिमीहरूलाई सेनामा भर्ना गरिदिन्छु भर्ना गरेबापत नगद रूपैयाँ दिनुपर्ने हुन्छ’ भन्दै ठगी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक पाण्डेयका अनुसार पीडित सात जनालाई सिधै भर्ना गरेर तालिममा समावेश गराउने आश्वासन देखाइएको थियो । पक्राउ परेकाको खाता नम्बर र ई–सेवामा रकम आएको बताइएको छ । उनीहरूविरुद्ध ठगी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया