युवालाई देशभित्रै विकास निर्माणका कार्यमा जुट्न प्रधानमन्त्रीको अपिल
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सिर्जना र क्षमता राष्ट्रका पक्षमा प्रयोग गर्न युवालाई अपिल गरेका छन् । चितवनको भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय युवा दिवस, २०२३ का अवसरमा आयोजना गरेको सप्ताहव्यापी समापन कार्यक्रममा आज यहाँ उनले स्वदेश र विदेशमा रहेका लाखौँ युवालाई देशभित्रै विकास निर्माणका कार्यमा जुट्न आग्रह गरे ।
प्रधानमन्त्री दाहालले आउने दिनमा नेपालले कोल्टे फेर्दै जाने र विकासले गति लिने विश्वास व्यक्त गरे। उनले भने, ‘नेपालमा हर हालतमा सुशासन, बेथिति र भ्रष्टाचारको अन्त्य हुनैपर्छ, तल परेको समुदायलाई माथि ल्याउने कार्यक्रम ल्याउनुपर्छ ।’
नेपाली युवाभित्र अन्तरनीहित सिर्जनात्मक क्षमता र प्रतिभालाई देशको आर्थिक विकास र समृद्धिका निम्ति कसरी सदुपयोग गर्ने भन्नेमा आफ्नो ध्यान गएको उनले बताए । प्रधानमन्त्री दाहालले भने, ‘प्रधानमन्त्रीको हैसियतमा केही दिनदेखि लगातार नै विदेशमा जाने युवा श्रमिकको हकहितको संरक्षण कसरी गर्ने भन्ने विषयमा लागिरहेको छु ।’
आफूले युवाका निम्ति योगदानमा आधारित सुरक्षा कार्यक्रम घोषणा गरेको उल्लेख गर्दै उनले त्यसमा आजसम्म आउँदा झन्डै तीन लाख विदेशमा रहेका श्रमिक आबद्ध भइसकेको जानकारी आफूलाई प्राप्त भएको बताए । विदेश जाने युवालाई सुरक्षित र सम्मानजनक कामका अवसरका लागि कसरी वातावरण निर्माण गर्ने भन्ने चुनौती रहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री दाहालले भने, ‘जबसम्म देशभित्र नै युवाका निम्ति उपयुक्त रोजगारीको वातावरण बन्दैन, तबसम्म युवा पलायनको स्थिति रोकिँदैन ।’ प्रधानमन्त्रीको हैसियतले आफ्नो ध्यान रणनीतिक गृहकार्य गर्दै ठूला विकासका परियोजना कसरी देशभित्र विकास गर्ने भन्नेतर्फ केन्द्रित रहेको उनले बताए।
कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले युवाका लागि महानगरपालिकाले विभिन्न काम गरेको उल्लेख गर्दै स्वदेशमै युवाले रोजगार पाउने अवस्थाको सिर्जना गर्न सबै लाग्नुपर्ने बताइन्। उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाले सप्ताहव्यापी कार्यक्रम गरेर युवामा ऊर्जा थपेको बताइन्।
सो अवसरमा थारु, तामाङ, मगर र बोटे संस्कृति झल्किने नाचगान प्रस्तुत गरिएको थियो । सप्ताहव्यापी कार्यक्रमका उत्कृष्टलाई पुरस्कृतसमेत गरिएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया