NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

एकै वर्षमा २० प्रतिशतले बढ्यो अपराध

काठमाडौं ।पछिल्लो एक वर्षमा अघिल्लो वर्षभन्दा करिब १० हजारभन्दा धेरै अपराधका घटना प्रहरीमा दर्ता भएका छन् । यो अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले बढी हो ।

०७९/८० मा प्रहरीमा ५६ हजार तीन सय १५ अपराधका घटना दर्ता भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । जुन ०७८/७९ को तुलनामा २०.०७ प्रतिशतले बढी हो । उक्त वर्ष ४६ हजार नौ सय दुई अपराधका घटना दर्ता भएका थिए ।

अपराध उच्चदरमा वृद्धि हुँदा पनि त्यसको अनुसन्धान गर्ने जनशक्तिको संख्या भने उही छ । अनुसन्धानमा न्यून जनशक्ति हुँदा प्रहरीमाथि अत्यधिक कार्यबोझ बढेको छ । करिब ८० हजार जनशक्ति रहेको नेपाल प्रहरीमा दुई हजार तीन सय ९२ जना मात्र अपराध अनुसन्धानमा प्रत्यक्ष आबद्ध छन् । जसअनुसार एकजनाले वर्षमा औसत २३ मुद्दाको अनुसन्धान गर्नुपर्ने हुन्छ । मुद्दाको अत्यधिक चाप हुने जिल्लामा एकै प्रहरीले वर्षमा ५० वटासम्म मुद्दा हेर्नुपर्ने बाध्यता छ ।

अपराध अनुसन्धानमा पर्याप्त जनशक्ति नभएको र वृद्धि गर्ने प्रयास भइरहेको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए । ‘कुल जनशक्तिको १० प्रतिशतलाई अपराध अनुसन्धानमा खटाउने प्रहरीको लक्ष्य छ । हाल चार प्रतिशत मात्र छन्,’ उनले भने, ‘अपराध अनुसन्धानमा छुट्टै समूह बनाउने र उनीहरूलाई प्रोत्साहन भत्ताको समेत व्यवस्था गर्नेबारे विगतदेखि नै छलफल हुँदै आए पनि प्रगति भने हुन सकेको छैन ।’ जनशक्ति अभाव, अत्यधिक कार्यबोझ र प्रोत्साहनको अभावका कारण अपराध अनुसन्धान प्रभावकारी हुन नसकेको प्रहरी अधिकारी बताउँछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।