कोशी सरकारविरुद्धको मुद्दामा निवेदकका तर्फबाट जवाफी बहस हुँदै

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध परेको मुद्दामा आज सर्वोच्च अदालतमा जवाफी बहस हुँदैछ ।
मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक तवरले विश्वासको मत लिएको भन्दै नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
निवेदकका तर्फबाट सोमबार बहस भएको थियो । मङ्गलवार विपक्षीका तर्फबाट बहस सकिएकाले आज रिट निवेदकको तर्फबाट जवाफी बहस हुन लागेको हो ।
यो मुद्दामा न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सोमबारबाट सुनुवाइ भइरहेको छ ।
भदौ १७ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले यो मुद्दा पूर्ण इजलासमा पठाउने निर्णय गरेको थियो ।
मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै गत भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले तत्काल दिर्घकालीन असर पर्ने निर्णय नगर्न भन्दै मुद्दालाई अग्राधिकार दिएको थियो ।
भदौ ४ गते मुख्यमन्त्री थापाले विश्वासको मत लिनेक्रममा सभाको अध्यक्षता गरेको व्यक्तीको समेत मत लिएका थिए । उक्त दिन सभाको अध्यक्षता कांग्रेस सांसद इस्राइल मन्सुरी र गीता तिम्सिनाले गरेका थिए ।
उनीहरुले पालै पालो मत दिएका थिए । सर्वोच्चको आदेशपछि कोशी सरकार बजेटविहीनको स्थितिमा छ । रिटमा मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गर्न असफल भएको र संविधानको धारा १६८ को उपधारा ३ बमोजिमको मुख्यमन्त्री नियुक्त गर्न परमादेश समेत माग गरिएको छ ।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग, मुख्यमन्त्री उद्धव थापा, अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरी, तत्काल बैठकको अध्यक्षता गर्ने प्रदेशसभा सदस्य गीता तिम्सिना र कोशी प्रदेशसभा सचिवालयलाई विपक्षी बनाइएको छ ।
प्रतिक्रिया