‘आर्थिक संकट समाधान गर्न एसियाली मुलुकबीच सहकार्य हुनुपर्छ’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले हाल विश्वमा देखापरिरहेको आर्थिक सङ्कटको समाधानका लागि एसिया प्रशान्त क्षेत्रका मुलुकहरूका बीचमा सहयोग तथा सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।
हाल विश्वका विभिन्न स्थानमा विविध विषय र क्षेत्रका अलग–अलग समस्या उत्पन्न भइरहेका र यसका कारण बहुआयामिक चुनौतीहरू देखापरेकाले ती समस्याको समाधान गर्न एसियाली क्षेत्रमा सहकार्य र सहयोग हुनुपर्नेमा जोड दिएका हुन् ।
जापानको राजधानी टोकियोमा आयोजित एसियन रोजगारदाता सम्मलेनलाई आज सम्बोधन गर्दै अध्यक्ष ढकालले शान्ति र स्थायित्वबिना कुनै पनि समस्या समाधान गर्न सहज नहुने भन्दै सबै मिलेर काम गर्नुपर्नेमा जोड दिएको नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
अध्यक्ष ढकालले दिगो आर्थिक वृद्धि, रोजगारी सिर्जना, श्रम आप्रवासन र सीप विकासलगायत एसिया प्यासिफिक क्षेत्रका साझा लक्ष्यहरू दोहोर्याउँदै, यस क्षेत्रका मुलुक र निजी क्षेत्रबीचको सहकार्य र सवन्वयबाट मात्र यी चुनौतीको सामना गर्न सकिने बताए।
ढकालले द्रुत ‘डिजिटलाइजेसन’ र व्यवसाय सञ्चालनमा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) को एकीकरणतर्फ पनि ध्यानाकर्षण गराएका थिए । उनले सम्भावित असमानताहरूलाई न्यूनीकरण गर्न श्रमिकको सीप विकास तथा क्षमता अभिवृद्धि गर्नुपर्ने बताए ।
ढकालले आर्थिक वृद्धि, रोजगारी सिर्जना, साना तथा मझौला उद्यमलाई सहयोग, सामाजिक सुरक्षा, सीप विकास तथा सामाजिक संवादको सुदृढीकरणमा नेपाल प्रतिबद्ध रहेकोसमेत बताए ।
नेपालमा लगानीको वातावरण सुधार हुँदै गएको र लगानीको प्रचुर सम्भावना रहेको बताउँदै अध्यक्ष ढकालले दुई ठूला र उदीयमान मुलुक चीन र भारतको बीचमा रहेकाले नेपालमा बजारको ठूलो सम्भावना रहेको पनि बताए । उनले नेपालको जलविद्युत्, पर्यटन पूर्वाधार विकासको क्षेत्र फस्टाउँदो रहेको र यी क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया