बिग्रिएको चिज बिक्री गर्ने उत्पादन केन्द्रलाई १० हजार जरिवाना

रसुवा । दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ । चिज राख्ने भण्डार अव्यवस्थित पाइएको, बिलबिजक जारी नगरेको, बिग्रिएको चिज उपभोक्तालाई बिक्री गरेको फेला परेपछि केन्द्र कारवाहीमा परेको हो ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञवालीको नेतृत्वमा रहेको बजार अनुगमन समितिले केन्द्रलाई कारबाहीस्वरूप रु १० हजार जरिवाना गराउँदै सचेत समेत गराएको छ ।
गोसाइँकुण्ड धार्मिक मार्गस्थित चन्दनबारी चिज उत्पादन केन्द्रको भण्डारमा सडेर राखेका चिज बजारमा बिक्री–वितरण भएको भन्ने जनगुनासो बढेपछि बजार अनुगमन समितिले केन्द्रको भण्डारमा छापा मारेको थियो ।
सरकारी स्वामित्वको चिज केन्द्रमा उपभोग गर्न नमिल्ने गरी सडेको ७५ केजीभन्दा बढी गुणस्तरहीन चिज फेला परेपछि सो चिज नष्टसमेत गराइएको सहायक प्रजिअ एवं अनुगमन समितिका संयोजक ज्ञवालीले जानकारी दिए ।
केन्द्रद्वारा उत्पादित चिज नष्ट गरिएको यो पहिलो पटक भएको बताइएको छ । गोसाइँकुण्डमा भक्तजनको ओहोरदोहोर भइरहेको धार्मिकमार्गमा अवस्थित चिज केन्द्रबाट प्रसादका रूपमा समेत भक्तजनले चिज खरिद गर्ने भएका कारण बिग्रिएको चिज बिक्री–वितरण नगर्न स्थानीय बासिन्दाले समेत आग्रह गरेका छन् ।
बडादसैँसमेत नजिकिँदै गएको र गुणस्तरहीन खाद्यवस्तु बजारमा बिक्री हुनसक्ने सम्भावनालाई मध्यनजर गरी बजार अनुगमन समितिले बजार अनुगमनलाई आजदेखि तीव्र पारिएको घरेलु उद्योग रसुवाका प्रमुख बृहस्पति तामाङले जानकारी दिए ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया