NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २३ गते

मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । सङ्घीय संसद प्रतिनिधिसभाको आजको बैठकमा बोल्नुहुने सांसदहरुले उपभोक्ता बजारमा देखिएको मूल्यवृद्धि, कालोबजारी, कृत्रिम अभाव, न्यून गुणस्तरलगायतका समस्या समाधानका लागि संसदमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको बैठकमा शून्य समयमा बोल्नुहुँदै सांसद उदय शमशेर जबराले चाडबाडको समयमा उपभोक्ता बजारमा मूल्यवृद्धि देखिएको उल्लेख गर्नुहुँदै त्यसलाई नियन्त्रण र नियमनका लागि सरकारले पहल गर्नुपर्ने बताए ।

‘पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि सरकारले फिर्ता लिएको छ । त्यो सकारात्मक छ । तर पछिल्लो तीन महिनामा महङ्गी अत्यन्त बढेको छ’, उनले भने, ‘चाडबाडको समयमा बजारमा गोलभेडा, चिनी, चामलजस्ता उपभोग्यवस्तुमा मूल्यवृद्धि भएको छ । काठमाडौँ उपत्यकालगायतका बजारमा कालोबजारी र कृत्रिम अभावका समस्या देखिएका छन् ।’

बजार अनुगमन प्रभावकारी बनाउन उनले संसदमार्फत् सरकारको ध्यानाकर्षण गराए ।

सांसद उर्मिला माझीले पनि पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको निर्णय फिर्ता गरेर जनतामा राहतको महसुस गराएको बताइन् । सबै उपभोग्य वस्तुको मूल्य बढेको उल्लेख गर्दैै उनले यसको मुख्य कारण कालोबजारी र कमिसनतन्त्र रहेको बताए । बजार अनुगमनका लागि उच्चस्तरीय संयन्त्र बनाउपर्ने उनको माग छ ।

सांसद किरणकुमार साहले चिकित्सकमाथि भइरहेको आक्रमण र विभिन्न स्थानमा घरेलु हिंसा भइरहँदा सुरक्षा प्रशासनले प्रभावकारी भूमिका खेल्न नसकेको बताए ।

सांसद गोमा लाभ (सापकोटा)ले खाद्य वस्तुको मूल्यवृद्धि, कालोबजारी र मिसावटले उपभोक्ता पीडित हुनुपरेको बताइन् । अहिले मधेश प्रदेशमा दैनिक आठ घण्टासम्म अघोषित लोडसेडिङ भइरहेको उनको भनाइ छ ।

सांसद जुलीकुमारी महतो महासेठले मूल्यवृद्धि र कालोबजारी बढिरहँदा पनि अनुगमनको प्रभावकारिता देखिन नसकेको बताइन् ।

सांसद एकनाथ ढकालले सिंहदरवार क्षेत्रमा रहेको नेपालको पहिलो संसद भवन जीर्ण अवस्थामा रहेकाले त्यसको पुनःनिर्माणका लागि माग गरे ।

‘सिंहदरबारस्थित नेपालकै पहिलो संसद भवन वर्षौदेखि बेहाल छ । जीर्ण अवस्थामा रहेको एक सय वर्ष पूरानो राणाकालिन भवनको उचित संरक्षण नहुँदा यो भवन भग्नावशेष जस्तै भएको छ ।

भित्तामा झारपातले जेलिएको छ’, उनले भने, ‘विसं २०१५ मा पहिलोपटक संसद बैठक बसेको यो भवनलाई पुनःनिर्माण गरेर पुरातात्विक महत्वको भवनका रुपमा संरक्षण गर्नुपर्छ ।’

सांसद ऐनबहादुर शाहीले केही समयअघि मुगुको गमगढीमा आगलागीबाट आठ घर नष्ट भएकोमा पीडितलाई राहतका लागि सरकारले पहल गर्नुपर्ने बताए ।

सांसद गणेश पराजुलीले उपत्यकाभित्रका सडक निकै साँघुरा भएकाले त्यसलाई विस्तार तथा मर्मतसम्भार गर्नुपर्नेमा जोड दिए । उपत्यकाभित्रका बाटो विस्तारलाई जतिसक्दो चाँडो पूर्णता दिनुपर्ने उनको माग छ ।

अरनिको राजमार्ग निर्माण र विस्तारका काममा ढिलाइ भइरहेको विषय सांसद गोकुल बाँस्कोटाले आजको बैठकमा उठाए । त्यो राजमार्ग विस्तार र निर्माणमा ढिलाइ हुँदा त्यहाँ दुर्घटना बढेको उनको भनाइ छ ।

सांसद छिरिङ डम्डुल लामा भोटेले बाढी र पहिरोका कारण हुम्लाको रिप गाउँ निकै नै जोखिम अवस्थामा रहेकाले स्थानान्तरणका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद अशोककुमार चौधरीले तराई क्षेत्रका कृषकले धानको समर्थन मूल्य पाउन नसकेको बताए । सरकारले धानमा तोकेको समर्थन मूल्य किसानले पाउनुपर्ने र केरा खेतीमा देखिएको रोग नियन्त्रणका लागि पहल हुनुपर्ने उनको भनाइ छ ।