इजरायली बंकरबाट विद्यार्थीको भिडियो अपिल- बिन्ती छ, अब कुर्न सक्दैनौं

काठमाडौं । यतिबेला इजरायलमा युद्धको चपेटामा फसेका नेपाली विद्यार्थीले जति सक्दो छिटो उद्धारको अपिल गरिरहेका छन् ।
केहीले प्रधानमन्त्रीका नाममा खुला पत्र लेखेर उद्धारको अपिल गरेका छन् भने केहीले भिडियोसमेत बनाएर चाँडो भन्दा चाँडो उद्धारका लागि आग्रह गरिरहेका छन् ।
उनिहरु इजरायलका बिभिन्न बंकरहरुमा बसिरहेका भएपनि सुरक्षित ठानिरहेका छैनन् । अहिले इजरायलको बंकरमा बसिरहेका दाङका वीपिन सुवेदीको समूहले एक भिडियो मार्फत उद्धारको पहलका लागि आग्रह गरेको छ । उनले जति सक्दो छिटो उद्धार गरिदिन आग्रह गरेका छन् ।
उनले भिडियोमा यस्तो भनेका छन्:
म वीपिन सुवेदी । अहिले सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायबाट हामी आएको विद्यार्थीहरु हौं । हामी पाँच जना छौं । घर परिवारलाई पीडा हन्छ भनेर हामीले यो भिडियो नबनाउने स्थितीमा थियौं । तर घरभन्दा माथि उठेर अहिले हामीलाई देशले केही नगरेर यो भिडियो बनाउन हामी विवश छौं ।
यो भिडियोमा हजुरहरुले देखिरहनु भएको छ । यो बंकर हो, बंकरमा हामी करिब तीन दिनदेखि बसिरहेका छौं । यो बंकरमा हिजो साँझदेखि एम्बेसी (राजदुतावास)ले उद्दार गर्छ भनेर हामी लुगा लगाएको जस्तो गरेर बसिरहेका छौं । बिहानको समय भएर हामीलाई यति धेरै बोल्न आँट आइरहेको छ । जब साँझ पर्छ यो बंकर माथि मिसाइल खसेर दर्दनाक हुन्छ ।
हामीले १० जना साथि गुमाइसकेका छौं । अझै पनि हामी आफैै पनि गुम्छौंकी भन्ने डर छ । १० जना साथिको त्यो चिच्चाहट, गरेको हार गुहार सबै कुरा हामीलाई याद आउँछ, रातभर निन्द्रा लाग्दैन । मिसाइलले यो बंकरमा बच्छ भनेर नेपाल सरकारले सोचिरहेको होला । यो अहिले उज्यालो आइरहेको ढोका खुला छ । यहाँ आएर राति प्यालेस्टाइनीले साथिहरु जस्तै क्रुरतापूर्वक मार्यो भने हामी पनि त्यसै गरेर मर्ने? प्लिज बिन्ती छ,, हामी अझै कुर्न सक्दैनौं । इंडियाको न्युजमा हामीले सुन्यौ, एउटा टिकटक स्टारलाई होल प्लेन चार्टर गरेर उद्धार गरियो भनेर ।
हाम्रो नेपाल सरकारले यस्तो विद्यार्थीलाई किन उद्धार नगरेको ? हामी कृषि क्षेत्रमा केही पनि गर्न सक्दैनौं हो ? हामीले ३९ जनामा १० जना गुमाइसक्यौं अझै पनि जति बचेका छौं त्यतिलाई त केही न केही गर्न सकिन्छ होला नि ? देश फर्केर हामीले पनि केही न केही गथ्र्यौँ । हामीलाई बैठक भैरहेको छ, यता उता सुनाउनु पर्दैन्, म्यासेजमा हामीले यस्तो गरिरहेको छौं भनिरहनु पर्दैन । राज्यले यो गरिरहेको छ त्यो गरिरहेको छ, हजुरहरु मिटिङ गर्नुहोस् चाहे जे गर्नुहोस् । तीन दिन भयो त्यो पनि सोचदिनुहोस् ।
हामीलाई चोट लागेको छैन् रे ? कुन स्थितीमा छौं हामी, राति बस्दा श्वास पुग्दैन्, मुटु फुट्न खोज्छ, मुख बन्द हुन्छ । मुख बन्द गर्दा श्वास नपुगेको महसुस हुन्छ । कहिलेसम्म हामी यसरी बस्ने ? यो भिडियो दिभरीमा केही हुन्छ कि भनेर बनाएको हो । आज पनि त्यस्तै रात कटाउनु पर्यौ भने रातले नै लग्ने भयो हामीलाई । साथीहरुलाई लग्यो, अब हामीलाई नलगोस् । विन्ती छ ।
प्रतिक्रिया