इजरायलबाट थप एक विद्यार्थीको शव ल्याइयो
काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दस नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज नेपाल ल्याइएको छ ।
नेपाल ल्याइएको शव बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए । उनका अनुसार फ्लाई दुबईको विमानमार्फत आज बिहान ७ बजे उनको शव ल्याइएको हो ।
इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दस विद्यार्थीमध्ये हालसम्म पाँच जनाको शव नेपाल ल्याइएको, बाँकी पाँचजनाको शव ल्याउन सम्बद्ध नातेदारको डिएनए सङ्कलन गरी पठाइएको र अन्य शव पनि चाडै नेपाल ल्याइने उनले बताए ।
हालसम्म नेपालीसहित दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव ल्याइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा दस नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रमा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत् उनीहरु इजरायल गएका थिए ।
उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा धनुषा सापही–६ का आनन्द साह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान सारदा–३ का प्रवेश भण्डारी रहेका छन् । सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी सम्पर्कबिहीन रहेका छन् ।
केही समय अघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याएको थियो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया