इजरायलमा मारिएका थप तीन विद्यार्थीको शव नेपाल अइपुग्यो
काठमाडौं । दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये थप तीनजना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ ।
फ्लाई दुवईको जहाजमार्फत नेपाल आइपुगेका शवमा धनुषा सापही-६ का आनन्द शाह, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकार र डोटी पचनाली-३ का राजन फुलाराको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए । उनका अनुसार फुलाराको शव शुक्रबार दिउँसो, स्वर्णकारको गए राति र शाहको शव आज बिहान नेपाल आइपुगेको हो ।
दक्षिणी इजरायलमा गत असोज २० गते अर्थात् ७ अक्टोबरमा हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । हमास समूहको आक्रमणमा परी मृत्यु भएकामध्ये आठ जनाको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । शाह र स्वर्णकारको शव आजै सम्बन्धित जिल्लामा नेपाली सेनाको हेलिकप्टोरमार्फत पठाइने सहसचिव आरणले बताए ।
हालसम्म बझाङ जयपृथ्वी-६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन-४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम-५ का दीपेशराज विष्ट, धनुषा सापही-६ का आनन्द शाह, कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली-३ का राजन फुलारा तथा कैलाली बौनियाँ-३ का आशीष चौधरीको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए । उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा डोटी लामीखाल-८ का पदम थापा र सल्यान सारदा-३ का प्रवेश भण्डारी छन् ।
सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त-३ का विपीन जोशी सम्पर्कविहीन छन् । केही समयअघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याएको थियो ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया