गाजास्थित शरणार्थी शिविरमा इजरायली हवाई आक्रमण, ७० जनाको मृत्यु

एजेन्सी । गाजा पट्टीको अल–मगाजी शरणार्थी शिविरमा आइतबार भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ७० प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी सरकारी टेलिभिजनले जनाएको छ ।
गाजास्थित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–केद्राले एक विज्ञप्तिमार्फत् भीडभाड भएको आवासीय क्षेत्रमा हवाई आक्रमणले आक्रमण भएकोले ७० जनाको मृत्यु भएको र यो सङ्ख्या थप बढ्न सक्ने बताएका छन् । उनका अनुसार इजरायली सेनाले क्याम्पको मध्य क्षेत्रका मुख्य सडकहरूमा बमबारी गरिरहेको छ । जसले एम्बुलेन्स र नागरिक सवारीहरूलाई लक्षित स्थानहरूमा पुग्न बाधा पुगेको छ ।
मृत्यु हुनेमध्ये अधिकांश महिला तथा बालबालिका रहेका तथा स्थानीय अस्पतालहरूमा थप घाइतेलाई भर्ना गर्न गाह्रो भएको स्थानीय अधिकारीले बताएका छन् ।
स्रोतका अनुसार अल–मगाजी शरणार्थी शिविर बाहेक, इजरायली सेनाले मध्य गाजाको अल–बुरेज शरणार्थी शिविर र दक्षिणी शहर खान युनिसमा पनि आक्रमण गरेको छ ।
प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीका अनुसार एजरायली सैनिकद्वारा गरिएको तीव्र हवाई हमलाले अल–बुरेज, अल–मगाजी र अल–नुसेरातको शिविरको मुख्य सडकहरू बन्द गरेको छ । यहाँ एम्बुलेन्स तथा उद्धार टोलीहरूको काममा समेत बाधा पुगेको छ ।
इजरायली सेनाले पहिले गाजाका प्यालेस्टिनीहरूलाई खाली गर्न भनेको ठाउँहरूमध्य अल–मगाजी पनि एक थियो ।
प्यालेस्टिनी समाचार एजेन्सी वाफाका अनुसार, गत महिना इजरायलले अल–मगाजीमा बमबारी गरेको थियो । बमबारीमा ५१ जना प्यालेस्टिनीहरूको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिकाहरू थिए ।
गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार देखाएका तथ्याङ्कक अनुसार, इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या बीस हजार ४२४ पुगेको छ । अक्टोबर ७ मा द्वन्द्व सुरु भएदेखि यस क्षेत्रमा ५४ हजार ३६ जना घाइते भएका छन् ।
यसैबीच, गत साताको अन्त्यमा गाजामा कूल १५ इजरायली सैनिकको मृत्यु भएको पुष्टि भएको छ । इजरायली सेनाले गाजामा आफ्नो भूमिगत आक्रमणको क्रममा मारिएका इजरायली सैनिकको कूल सङ्ख्या १५४ पुगेको बताएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया