राष्ट्रियसभा निर्वाचन : पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि नियुक्त निर्वाचन अधिकृतले यही पुस १६ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछन् ।
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम सात जिल्लाका जिल्ला न्यायाधीशलाई यही पुस १६ गतेदेखि लागू हुने गरी बिहीबार निर्वाचन अधिकृतका रुपमा नियुक्त गरेको थियो । ती अधिकृतले सम्बन्धित प्रदेशमा प्रदेश निर्वाचन कार्यालयअन्तर्गत निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।
आयोगले कोशी प्रदेशमा मोरङका दुर्गाप्रसाद ढुङ्गेल, मधेसमा धनुषाका नारायणप्रसाद सुवेदी, बागमतीमा मकवानपुरका महेन्द्रबहादुर कार्की, गण्डकीमा कास्कीका केशवप्रसाद बास्तोला, लुम्बिनीमा दाङका कृपासुर कार्की, कर्णालीमा सुर्खेतका विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशमा कैलालीका जिल्ला न्यायाधीश ओमप्रसाद अर्याल नियुक्त गरेको छ ।
राष्ट्रियसभा निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम रहेको छ । आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका निर्वाचित १९ र मनोनित एक गरी २० सदस्यको कार्यकाल सकिँदैछ । कार्यकाल सकिने एक महिनाअघि निर्वाचन भइसक्नुपर्ने कानुनी व्यवस्था छ ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया